नेपाल सरकारले लामो समयसम्म हुम्लामा पठाउने सहुलियतको चामल नपाएको भन्दै जिल्ला समन्वय समिति पदाधिकारीहरूले असोज २४ गते थाल बजाएर विरोध जनाएका छन् ।

राज्यको ध्यान आकर्षण गर्न आज थाल बजाएर विरोध जनाएको जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले बताए । नेपालीहरूको महान चाड बडादसैँमा समेत सहुलियतको चामल नपाएको भन्दै विरोध स्वरूप थाल बजाएर आधा घण्टा संस्थानको कार्यालयमा धर्ना दिएका छन् ।
अब तिहारमा पनि चामल नपाइने भन्दै ध्यानाकर्षण गर्न शान्तिपूर्ण रूपले पहिलो दिन थाल बजाएर संस्थान/राज्यलाई जानकारी दिन ज्ञापनपत्र बुझाइएको नेकपा एमाले हुम्ला पार्टी सचिव तिर्थराज रोकायाले जानकारी दिए । समन्वय समितिका प्रमुख दानबहादुर रावतको नेतृत्वमा स्थानीय तहका प्रतिनिधि राजनीतिक दलहरूले विरोध गरेका हुन् ।

संस्थानको गोदाम भने खाली रहेको छ । यस वर्षको ढुवानी नगरेकाले चामलको अभाव भएको बताइएको छ । ढुवानीको जिम्मा लिएका निजी एयरलाइन्सहरू भारतीय पर्यटक ओसार्न ब्यस्त रहेकाले हुम्लामा चामलको अभाव बढ्दै गएको संस्थानको भनाई रहेको छ ।
पटकपटक चामल ढुवानीका लागि विभिन्न मन्त्रालयमा हारगुहार गरेपनि चुनाव आएकाले कसैले नसुन्दा जिल्लामा चामलको अभाब भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए ।

आन्दोलनकारीले आफूहरूको माग पुरा नगरे कडा आन्दोलन गर्ने बताएका छन् । व्यापक जनता परिचालन गरी दबावका साथै कडा आन्दोलन गर्ने बताएका छन् । गत वैशाखदेखि एक पटक मात्र चामल पाए जिल्लाबासीले दसैँ तिहारमा पनि चामल नपाउँदा तिहार कसरी मनाउने चिन्तामा परेको बताएका छन् ।
माथिल्लो हुम्लामा धान नफल्ने अहिले धान नपाकेकाले भातसमेत खान नपाइने भएको स्थानीयले बताएका छन् । जन प्रतिनिधिको मागलाई तत्काल माथिल्लो निकायमा पठाएर चामल अपूर्तिका लागि पहल गर्ने संस्थानका प्रमुख नारायणसिंह केसीले आश्वसन दिएका छन् । अहिले संस्थानको गोदाममा भैपरी आउने ‘मृत्यु, जन्म र बिरामी’लाई समेत दिने चामल नहुँदा समस्या भइरहेको छ ।