गुल्मीमा अविरल वर्षासहितको पहिरोले पाँच जनाको मृत्युसँगै तीन स्थानीय तहका नागरिकको जनजीवन प्रभावित भएकाे छ ।
असार १४ गते रातिको पहिरोले घर पुरिएपछि मालिका गाउँपालिका–६, अर्जेका ५५ वर्षीय भेष बहादुर विक, पत्नी ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी आठ वर्षीया सपना र आठ महिनाकी विपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुर्यभान चौधरीले जानकारी दिनुभयो ।
असार १४ गते दिउँसो ४ बजेबाट सुरु भएको मुसलधारे पानी राति ११ बजेसम्म परेको स्थानीयको भनाइ छ । पहिरोका कारण रातिबाट बेपत्ता पाँच जनाको असार १५ गते बिहानैबाट खोजीकार्य अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएका विक परिवारको नेपाल प्रहरी सहितका सुरक्षा निकाय र स्थानीयले शव निकालेका थिए । त्यस्तै मुसिकोट नगरपालिका–२ का यमबहादुर सिंहको घर पहिरोले पुरिँदा पूर्ण रूपमा क्षति भएको छ । अहिले सिंह परिवारलाई छिमेकीको घरमा सारिएको स्थानीय महेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिका–३ का दुई घर पनि उच्च जोखिममा रहेका छन् । वर्षातले मालिका गाउँपालिका, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाका अधिकांश सडक अवरुद्ध भएका छन् । तीन ओटै स्थानीय तहबाट गन्तव्यमा छुट्ने सवारीका साधनहरू अलपत्र परेका छन् ।
तीन स्थानीय तहमा बर्षातले विद्युतका पोलहरू ढलेका कारण सञ्चार सम्पर्क समेत विच्छेद भएको छ । वर्षा निरन्तर रहेकाले सडक खुलाउने काम गर्न समस्या भए पनि मुल सडकहरूमा काम भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।






