दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन दोरम्बा अस्पतालको निर्माणकार्य सम्पन्न नहुँदा जस्ताको छाना भएका टहराबाट बिरामीलाई स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।
१५ शैय्याको अस्पताल बनाउन निर्माण सुरु गरिएको अस्पताल भवनको निर्माणकार्य थालेकै वर्षदेखि अलपत्र छ । अस्पताल भवन निर्माणका लागि ल्याइएको फलामका रड खिया लागेर काम नलाग्ने भएका छन् भने तीन वर्षदेखि भवन निर्माणको काम रोकिएको छ ।

अस्पताल भवन निर्माणको काम अलपत्र भएपछि टहराबाटै बिरामीलाई स्वास्थ्य सेवा प्रवाह भइरहेको गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष समेत रहनुभएका स्थानीय रत्नप्रसाद कँडेलले बताउनुभयो ।
सो अस्पताल निर्माणका लागि आरोग्य सुवेदी जेभीले २०७८ को चैत १६ गतेसम्ममा भ्याटसहित ११ करोड ३० लाख ११ हजार ४ सय ६० रुपैँयामा काम सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । १८ करोड रुपैँयको काम ११ करोडमा गर्ने सम्झौता कम्पनीले गरेको थियो ।
निर्माण कम्पनीले २ करोड २६ लाख रुपैँया पेस्की र पहिलो बिलको ८२ लाख ४७ हजार ४ सय ५१ रुपैँया भुक्तानी लिइसकेको छ । दोस्रो बिल ४६ लाख १३ हजार रुपैँया भुक्तानीको कागज बुझाएको भए पनि भुक्तानी पाएको छैन ।
निर्धारित समयमा काम सम्पन्न नगरेपछि दोरम्बा शैलुङ गाउँ कार्यपालिका बैठकले पहिलो पटक २०७८ असोज १६ गतेसम्म म्याद थप गरेको थियो । त्यो अवधिमा पनि काममा कुनै प्रगति नभएपछि गाउँ कार्यपालिकाले ०८० असार २४ गतेसम्मका लागि म्याद थप तर पनि निर्माण कम्पनीले काम गरेन । अन्तिम पटक म्याद थप गरेको एक वर्ष बित्दा पनि कम्पनीले काम गरेको छैन ।
अहिले निर्माण कम्पनीले सो स्थानका अधिकांश निर्माण सामग्री उठाएर अन्यत्रै लगेको छ । भवनको जग राखेर केही पिल्लर उठाउने बाहेकको काम भएको छैन । सो विषयमा जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी हाल्दा पनि काम अघि नबढेको कँडेलले बताउनुभयो ।
भवन निर्माणको काममा व्यवसायीलाई ताकेता गर्ने कुरामा अहिले स्थानीय सरकाले पनि चासो नदेखाएको स्थानीय नारायण श्रेष्ठ बताउनुहुन्छ । स्थानीय सरकारले काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाइ छ ।
सो अस्पतालको नाममा २७ रोपनी १२ आना जग्गा छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई पालिका स्तरको अस्पताल घोषणा गरिएको छ । तर भवन नै नभएपछि अस्पतालबाट दिने सेवा प्रवाह हुन सकेको छैन । सेवा नभएपछि स्थानीय उपचारको लागि काभ्रेको धुलिखेल र काठमाडौैं धाउनु पर्ने बाध्यता छ ।