सभापोखरी गाउँपालिका-६ की २९ वर्षीया सोमकुमारी राईले गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी दर्ता गराउनु भएको छ ।
सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बूले हातपात गरेको आरोपमा पीडितले असार ७ गते उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।
गाउँपालिका अध्यक्षविरूद्ध सोमकुमारीले अभद्र ब्यवहार गरेको आरोपमा उजुरी दर्ता गराएको डिएसपी श्रेष्ठले बताउनुभयो ।
विद्युतको पोल गाड्ने विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष लिम्बूले घरमै आएर ०८१ असार ३ गते दिउँसो हातपात गरेको पीडित राईको आरोप छ ।
कुटपिटबाट घाइतेको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
गाउँपालिका अध्यक्षले घर नजिकै विद्युत पोल गाड्न खोजेपछि आफूले हटाउन आग्रह गर्दा जनप्रतिनिधिले हातपात गरेको पीडितको आरोप छ । टोल विकास संस्थाको समन्वयमा पोल गाड्ने विषयमा सहमति भएको र सोमकुमारी राईको घर अगाडि पोल गाडिएको छ ।
सुरूमा पोल गाड्न राईले स्वीकृति दिएको र पोल गाडीसकिएपछि घरेलु हतियारले आफूलाई आक्रमण गर्न खोज्दा आत्मरक्षा मात्र गरेको घटनाका आरोपित सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बूको भनाइ छ ।
गाउँपालिका अध्यक्षले सोमकुमारी राईविरुद्ध असार ७ गते उजुरी दिर्ता गराउनु भएको छ । गाउँपालिका अध्यक्ष लिम्बूले कुटपिट आरोपको खण्डन गर्देै असार ९ गते प्रेस विज्ञप्ति जारी गर्नु भएको थियो ।

स्थानीय टोल विकास संस्थाको समन्वयमा तार जोड्ने क्रममा शुरु भएको विवाद समाधानको लागि समन्वय गर्ने क्रममा स्थानीय राईले अध्यक्ष लिम्बुलाई खुकुरी प्रहार गर्न लागेपछि उक्त खुकुरी खोस्ने काम गरेको विज्ञप्तिमा भनिएको छ ।
सोमकुमारी राईले प्रहार गर्न प्रयोग गरेको तीन ओटा खुकुरीमध्ये एक ओटा खुकुरी बाहृविसे प्रहरी चौकीमा र दुई ओटा आफैसँग राखिएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ ।
घटना आफूले सामान्य रुपमा लिएपनि पछिल्लो समय अतिरञ्जित गरि राजनीतिकरण गरिएपछि विज्ञप्ति जारी गर्नु परेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ ।
सामाजिक सञ्जालमा घटनाको पुरा भिडियो सार्वजनिक नगरी सुनियोजित ढंगले छोटो टुक्रा मात्र बनाएर भ्रम फैलाएर चरित्र हत्या गर्न खोजिएको अध्यक्ष लिम्बूको भनाइ छ ।
घटनाका विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रहरीले जनाएको छ ।