ईश्वरपुर नगरपालिका-१० का जनता माध्यमिक विद्यालयका शिक्षक ३४ वर्षीय कारीप्रसाद पासवानलाई ०८१ जेठ १८ गते सोही वडाका माओवादी केन्द्रका ईश्वरपुर नगर कमिटिका सदस्य ३४ वर्षीय राजेश कार्कीले कुटपिट गरेको भन्दै पीडितले असार २ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दिनु भएको छ ।
ईश्वरपुर नगरपालिका-१० स्थित जनता माध्यमिक विद्यालयको कक्षा कोठामा पठन-पाठन भइरहेको छ वा छैन भनि जेठ १८ गते अनुगमन गर्न आएका आरोपित कार्की कक्षा कोठा प्रवेश गरी, केही नबुझी, तिमी किन विद्यालय ढिलो आएको भन्दै विद्यार्थीहरूकै अगाडि एक्कासी कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की पनि दिएको पीडितको भनाइ रहेको छ ।
कुटपिटबाट घाइते भएका पासवानको उपचार जेठ १९ गतेदेखि २२ गतेसम्म ईश्वरपुरस्थित स्थानीय स्वास्थ्य केन्द्रमा भयो भने थप उपचार जेठ २४ गते प्रादेशिक अस्पताल मलंगवामा भयो ।
उजुरीपश्चात आरोपित कार्की फरार रहेको इलाका प्रहरी कार्यालय ईश्वरपुर केशरगञ्जका इन्स्पेक्टर रामप्रवेश यादवले जानकारी दिनु भयो ।