इन्द्रावती गाउँपालिका— ११ स्थित भीमटारका स्थानीयहरू खानेपानीको अभाव भएपछि एक घण्टा टाढाको दूरीबाट खानेपानी बोक्न बाध्य भएका छन् ।
गर्मी बढेसँगै स्थानीय स्तरमा रहेका खानेपानीका मुहानहरू सुकेपछि भीमटारका दनुवार समुदाय लगायतका नागरिकहरूलाई खानेपानीको समस्या भएको हो ।
गाउँमा खानेपानीको अभाव भएपछि एक घण्टाको पैदल हिँडेर वडा नम्बर १० मा रहेको कुवामा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता भएको इन्द्रावती गाउँपालिका— ११ की सुस्मिता दनुवारले बताउनु भयो । उहाँका अनुसार खानेपानी लिन जाँदा घरको सबै काम धन्दाहरू अलपत्र हुन्छ, एक गाग्री पानी लिएर आउन एक घण्टा समय बित्छ ।
मानिसका लागि मात्र होइन वस्तुभाउलाई पानी खुवाउनसमेत समस्या परेको इन्द्रावती गाउँपालिका— ११ की कुमारी दनुवारले बताउनु भयो । याहाँका अधिकांश नागरिकहरू कृषि पेसामा सङ्लग्न छन् । कृषक भएकै कारणले नागरिकहरूले गाई, भैँसी पाल्ने चलन अत्याधिक छ । घर पालुवा गाई, भैँसीलाई धेरै पानीको आवश्यकता पर्ने भएकोले पनि गाउँमा पानीको हाहाकार नै परेको कुमारी दनुवार बताउनु हुन्छ ।
गाउँमा खानेपानीको सामुदायिक धारा भए पनि पानी आउन बन्द भएको धेरै समय भएकोले आफूहरूलाई खानेपानीको समस्या भएको इन्द्रवती गाउँपालिका— ११ की सुशीला सापकोटाले बताउनु भयो ।
दनुवार, माझी, अधिकारी, सापकोटा लगायतका मिश्रित जाती समुदायको बसोबास रहेको उक्त गाउँमा विगत धेरै वर्ष अघिदेखि खानेपानीको अभाव त थियो । यस वर्ष लामो खडेरीका कारणले गाउँमा भएका खानेपानीका मुहानहरू सुकेकाले खानेपानीको समस्या भएको वडा अध्यक्ष राम्जी माझीले बताउनु भयो । इन्द्रावती नदीको बगर छेउमा रहेको उक्त गाउँमा खानेपानी समस्या समाधान गर्न निकै प्रयास गरेपनि दीर्घकालिनरुपमा समाधान गर्न नसकिएको वडा अध्यक्ष माझीले बताउनु भयो ।
खानेपानीको अभाव छ, खानेपानीको व्यवस्था गर्न गाउँपालिका अध्यक्षलाई धेरै पटक अनुरोध गर्दा पनि हाम्राे समस्या यथावतै रहेको स्थानीय गोपिलाल माझीले बताउनु भयो ।
गाउँमा खानेपानीको अभाव भएपछि स्थानीय श्री परोपकार आधारभूत विद्यालयको पढाइमा समेत बाधा परेको स्थानीय अभिभावक हरिबाबु सापकोटाले बताउनु भयो । सापकोटाका अनुसार विद्यालय गएका विद्यार्थिहरू खानेपानी लिन जाँदा समय धेरै लाग्ने भएकाले पढाइमा बाधा परेको हो ।
नेपालको संविधान २०७२ को भाग ३ धारा ३५ को ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनिएको छ । त्यसैगरी ०७९ भदौ २१ गते प्रमाणीकरण भएको खानेपानी तथा सरसफाई ऐन, २०७९ को दफा ३ को उपदफा १ मा खानेपानी तथा सरसफाईको अधिकारसम्बन्धी व्यवस्था गरिएको छ । तर इन्द्रावती गाउँपालिका– ११ का स्थानीय नागरिकहरू स्वच्छ खानेपानीको अधिकारबाट वञ्चित भएका छन् ।

