बागमती प्रदेश मातहत सञ्चालित सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा औषधी अभाव भएपछि सेवाग्राहीहरू निजी औषधी पसलबाट खरिद गरेर उपभोग गर्न बाध्य छन् ।
ओपिडी सात शैय्या सहित ५० शैय्याको अस्पतालमा उपचारमा आउने बिरामीबाट दर्ता शुल्क २५ रूपियाँ र उपचार वापत थप शुल्क लिने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । तामाकोशी गाउँपालिका– ५ का भीम रोकाहाले उपचारमा सरकारले तोकेको निःशुल्क औषधी समेत निजी औषधी पसलबाट खरिद गर्न लगाएको गुनासो गर्नुभयो । कानभित्र कपास अड्किएपछि निकाल्न आएका रोकाहाले आवश्यक सामग्री र औषधी खरिद गर्न अस्पतालले सिफारिस गरेको र आफूले निजी औषधी पसलबाट खरिद गरेको बताउनु भयो ।
यसैगरी, मेलुङ गाउँपालिका–१ का राजिव कोइरालाले अस्पातालमा चिकित्सकीय सेवा पाए पनि औषधी उपलब्ध नभएको र निजी औषधी पसलबाट खरिद गर्नु परेको बताउनु भयो ।
चौलागाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत प्रधानले बागमती प्रदेश माताहत अस्पताल सञ्चालनमा रहे पनि पर्याप्त बजेट उपलब्ध नगराउने र समयमा बजेट नपठाउदा अतिरिक्त शुल्क लिनु परेको बताउनु भयो ।
मौलिक हकमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिनुपर्ने व्यवस्था भए पनि समयमा आवश्यक जनशक्ति उपलब्ध नहुनु र उपचारका लागि राज्यले तोके अनुसारको निःशुल्क औषधी खरिदका लागि बजेट नहुँदा अस्पताल सञ्चालनमा समस्या आउने गरेको र जनगुनासो सुन्नु परेको अध्यक्ष प्रधानको भनाइ छ ।