सुरुङ्गा नगरपालिका-३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीलाई आत्महत्या दुरुत्साहन गरी कसुरको प्रमाण दबाएको आरोपमा कैद सजाय पाएका सोही ठाउँका नौ जना फरार आरोपितलाई सप्तरी प्रहरीले ०८१ जेठ २७ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले सुरुङ्गा नगरपालिका-३ भुसी महुलियाका ६५ वर्षीय श्यामलाल चौधरी, ७० वर्षीय चन्द्रकान्त चौधरी, ५० वर्षीय चन्दर चौधरी, ७० वर्षीय बिन्तीलाल चौधरी, ३५ वर्षीय विशे चौधरी, ३५ वर्षीय सन्तोष थापा, ५० वर्षीय दुर्गानन्द चौधरी, ५० वर्षीय जितु चौधरी र ७० वर्षीय रक्सु चौधरीलाई गिरफ्तार गरेको जनाएको छ ।
सुशान्तलाई २०७९ भदौ १९ गते उनका बुबा ४३ वर्षीय मिस्टर प्रसाद चौधरीले आत्महत्या दुरुत्साहन गरी कसुरको प्रमाण दबाएको भन्दै इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर शोभनविक्रम राणाले ०७९ भदौ २१ गते इलाका प्रहरी कार्यालय कडरबोनामा प्रतिवेदन दिएका थिए । मादक पदार्थ सेवन गरी बादविवाद गरिरहेका सुशान्तलाई भदौ १९ गते राति सोही ठाउँका ठूलो बुबा ५५ वर्षीय पदम चौधरीले घर ल्याई सम्झाउँदा आमा नयनदेवीलाई ढुङ्गाले हान्न खोजेपछि मिस्टर र पदमले प्लाष्टिकको डोरीले दुबै हातखुट्टा बाँधेर बाँसको लाठीले कुटेका थिए । हातखुट्टा बाँधेको डोरी बिहान साढे ४ बजे खोलेकोमा सुशान्त बिहान साढे १० बजे गोठको माथिल्लो तलामा पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरी प्रतिवेदनमा सुशान्तको हातखुट्टामा बाँधेको डोरीको निलडाम र चोटपटकका कारण फसिने डरले शवलाई प्रहरीको जिम्मा नलगाई आरोपितहरूले पासो काटी तल झारी बलान खोला किनारको महुलिया जंगलको खयर झारीमा सदगद गरी अपराध छुपाउन, प्रमाण दबाउन खोजेकोले कारबाहीको माग गरिएको थियो ।
प्रहरीले आत्महत्या दुरुत्साहन गरी कसुरको प्रमाण दबाएको भन्दै ०७९ भदौ २१ गते मिस्टर, पदमसहित सोही ठाउँका ६२ वर्षीय लक्ष्मीप्रसाद चौधरी, ६५ वर्षीय श्यामलाल चौधरी, ७० वर्षीय चन्द्रकान्त चौधरी, ५० वर्षीय चन्दर चौधरी, ७० वर्षीय बिन्तीलाल चौधरी, ७० वर्षीय प्रितिलाल चौधरी, ३५ वर्षीय विशे चौधरी, ३५ वर्षीय सन्तोष थापा, ५० वर्षीय दुर्गानन्द चौधरी, ५० वर्षीय जितु चौधरी, ७० वर्षीय रक्सु चौधरी र ४५ वर्षीय जसिलाल चौधरीसहित १४ जनाविरुद्ध उजुरी दर्ता गरेको थियो ।
आरोपित मिस्टर ०७९ भदौ २१ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा असोज २४ गते अभियोग पत्र दायर भएको थियो । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले ०७९ असोज २५ गतेको आदेशमा आरोपित मिस्टर पुर्पक्षका लागि २ लाख रुपियाँ धरौटी राखी तारेखमा रिहा भएका थिए । अन्य आरोपितहरूविरुद्ध वारेण्टसहितको म्यादी पुर्जी जारी भएको थियो । जिल्ला अदलातमा ०७९ चैत १४ गते हाजिर भएका रक्सु चौधरी र चन्द्रकान्त चौधरी न्यायाधीश हरिश्चन्द्र इंगनामको इजलासले जनही २५ हजार धरौटीमा रिहा भएका थिए । न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासमा हाजिर भएका अन्य आरोपितहरू पनि पालैपालो ०७९ चैत १५ गते, चैत १९ गते र चैत २१ गते धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासबाट ०८० भदौ १२ गते मृतकका बुबा मिस्टर र ठूलो बुबा पदमलाई २ महिना १५ दिन कैद र १० हजार रुपियाँ जरिवानाको फैसला भएको थियो । यसैगरी आरोपित लक्ष्मीप्रसाद चौधरीलाई १० दिन कैद र ५ हजार रुपियाँ जरिवाना भएको थियो भने गिरफ्तार नौ जनासहित र ७० वर्षीय प्रितिलाल चौधरी र ४५ वर्षीय जसिलाल चौधरीलाई १ दिन कैद र १ हजार रुपियाँ जरिवाना गर्ने फैसला भएको थियो ।