तनहुँ र चितवन जोड्ने त्रिशुली नदीमा पक्की पुल नहुँदा देवघाट गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का बासिन्दा बिरामी पर्दा अस्पताल लैजान समस्या समस्या परेको छ ।
देवघाट गाउँपालिका– ४ चारघरे टोलका ७० वर्षीय धनबहादुर मगर ०८१ जेठ २४ गते विहान तरकारी बेच्न मुग्लिन–नारायणगढ सडक खन्डको चितवनको भरतपुर महानगरपालिका– २९ को भोर्ले तर्फ आउँदै हुुनुहुन्थ्यो । तनहुँको देवघाट–४ को गाइघाट र चितवनको भरतपुर– २९ जोड्ने त्रिशुली नदीमा रहेको झोलुङ्गे पुल तर्ने क्रममा पुलको तलपट्टि चितवन तर्फको त्रिशुली नदीको किनारमा सञ्चालनमा रहेको क्रसर उद्योगको टिप्परले पुलको लठ्ठामा छोएपछि पुल हल्लिएर धनबहादुर घाइते हुनुभयो । उहाँलाई स्थानीय बासिन्दाले तत्कालै उपचारको लागि चितवनको भरतपुर अस्पताल लगे । उपचार पश्चात अस्पतालले उहाँलाई साँझ डिस्चार्ज गर्याे । परिवारको सदस्यले गाडीमा राखेर मुग्लिन–नारायणगढ सडकको भोर्लेसम्म ल्याए । त्यसपछि उहाँलाई स्ट्रेचरमा राखेर घरसम्म लैजानु पर्याे ।
पक्की पुल नहुँदा यस पटक मात्र हैन, हरेक पटक विरामी, बालबालिका र जेष्ठ नागरिकहरु अस्पताल तथा बजारसम्म जान आउन समस्या पर्ने गरेको देवघाट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ्गले बताउनुभयो । पुलको अभावमा ति वडाका दुर्गम गाउँहरुलाई सडक सन्जालले जोड्न नसकिँदा हरेक पटक विरामीले यस्तै सास्ती भोग्नु परेको वडा अध्यक्ष गुरुङ्गले बताउनुभयो ।
आकस्मिक बिरामी हुँदा सबैभन्दा बढि समस्या हुने गरेको उहाँले बताउनुभयो । विरामीलाई स्ट्रेचरमा राखेर सडक सम्म झार्न सक्ने युवाहरु पनि गाउँमा नहुँदा झन ठुलो समस्या हुने उहाँको भनाई छ ।
देवघाट गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का बासिन्दा सदरकुमाम दमौली, गाउँपालिकाको कार्यालय वा अस्पताल र बजारसम्म जानु पर्दा घन्टौं हिडेर आई उक्त झोलुङ्गे पुल तरेर मुग्लिन–नारायणगढ सडकको भोर्ले गएर त्यहाँबाट सवारी साधन चढ्नुपर्ने बाध्यतामा छन् ।
उक्त नदीमा पुल बनाउन गाउँपालिका वा प्रदेश सरकारको बजेटले नभ्याउने हुँदा संघीय सरकार समक्ष पटक पटक अनुरोध गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । ‘पुलको योजना परेको सुनिन्छ’ अध्यक्ष थापाले भन्नुभयो ‘तर पुल निर्माणको काम भएको छैन ।’ जहिलेसम्म पक्की पुल बन्दैन, तबसम्म त्यस भेगका नागरिकले त्यो दुख पाइरहने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।
