INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिका ओसार पसार घटनाका आरोपित गिरफ्तार

कर्णालीका २८ जना बालबालिकालाई गुम्बामा राखेर पढाउने भन्दै काठमाडौं लैजाने क्रममा सिमकोट गाउँपालिका –३ का ३६ वर्षीय नाम्गेल छिरिङ लामालाई जेठ २१ गते राति १२ बजे सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ स्थित तीनकुने चोकबाट गिरफ्तार गरेको छ । कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं लैजाँदै गर्दा मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले गिरफ्तार गरेको हो । बालबालिकालाई काठमाडौँ लैजान लामाले वडा कार्यालयको सिफारिस लिएका थिए ।

बालबालिकाका अभिभावकले पढाउनका लागि अनुरोध गरेपछि आफूले काठमाडौं लैजान लागेको आरोपितले बताएका छन् । १९ गते बिहान मुगुबाट बालबालिकालाई काठमाडौं लैजानका लागि बस मार्फत सुर्खेत ल्याइएको थियो ।

प्रहरीसँगको प्रारम्भिक बयानमा आरोपितले भनेका छन्– म हुम्लामै जन्मे हुर्केको मान्छे । गुम्बामै बसेर अध्ययन गरें । आफ्नो ठाउँका बालबालिकाको भविष्यको लागि लैजान लागेको थिएँ । वडाले पनि लैजानका लागि अनुमति र सिफारिस दिएपछि ल्याएको हुँ । अन्य मनसाय मेरो होइन ।

प्रक्रिया नपुर्‍याई बालबालिका लैजान लागेकोले लामालाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी बिरेन्द्रवीर विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार २८ जनामध्ये १६ बालिका र १२ जना बालक छन् । २६ जनाको वडाले सिफारिस गरेको छ भने दुई जनाको सिफारिस छैन ।

२८ जनामध्ये १० जना दलित समुदायका बालबालिका, १८ जना जनजाति र क्षेत्री समुदायका छन् । २८ जनामध्ये पाँच जना हुम्लाको खार्पुनाथका, पाँच जना अदानचुलीका, पाँच जना सर्केगाडका, ११ जना मुगुको सोरु गाउँपालिकाका र दुई जना जुम्लाका रहेका छन् । उनीहरूलाई सुर्खेत स्थित आवाज संस्थाको सेफ हाउसमा राखिएको छ । चार वर्षदेखि १३ वर्षसम्मका बालबालिका रहेको प्रहरीको अभिलेखमा उल्लेख छ ।

नाम्गेल छिरिङ लामाले बौद्धलगायतका उपत्यकामा रहेका गुम्बाहरूमा ती बालबालिकालाई परिवारको सहमतिमै राखेर उनीहरुको पालनपोषण र शिक्षा–दिक्षा दिने हेतुले काठमाडौं लैजान लागेको भएपनि बालबालिका सम्बन्धी ऐन २०७५ ले त्यसलाई रोकेको छ । यदि संरक्षणको आवश्यक भए सम्बन्धित निकायको अनुमति र अभिभावकको मञ्जुरीनामा आवश्यक पर्छ । तर, लामाले वडाको सिफारिस बाहेक अन्य कुनैपनि कानुनी प्रक्रिया पूरा गरेका छैनन् । परिवारले भने आफ्नै सहमतिमा बालबालिका पठाएको प्रहरी समक्ष स्वीकारेका छन् ।

पछिल्ला केही वर्ष यता कर्णालीबाट बालबालिका हराउने क्रम बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म ४२ बालक र ५४ बालिका कर्णालीबाट हराएका छन् । जसमध्ये १३ बालक र ११ बालिका भेटिएका छैनन् ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा कर्णालीका १० जिल्लाबाट ४ सय १४ जना बालबालिका हराएका छन् । जसअनुसार सुर्खेतका ५६ बालक र १ सय २२ बालिका, दैलेखका ११ बालक र ३६ बालिका, जाजरकोटका १० बालक र १८ बालिका, सल्यानका १५ बालक र २२ बालिका, रुकुम पश्चिमका १२ बालक र १४ बालिका, कालिकोटका १३ बालक र १३ बालिका, हुम्लाका पाँच बालक र तीन बालिका, मुगुका १४ बालक र ६ बालिका, डोल्पाका दुई बालक र चार बालिका, जुम्लाका १४ बालक र २४ बालिका हराएका छन् ।

४ सय १४ जना बालबालिका मध्ये १ सय ३२ बालक र २ सय ४५ बालिका प्रहरीको सहयोगमा भेटिएका छन् । २० बालक र १७ बालिका भने अझै फेला परेका छैनन् ।

अन्य

भिडियो