छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँमा निर्माणाधीन बर्थिङ सेन्टर भवन चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत बजेट विनियोजित भइ जिल्ला स्वास्थ्य सेवा कार्यालय मार्फत निर्माण सुरु गरिएको बर्थिङ सेन्टर भवन चार वर्षदेखि अलपत्र परेको हो ।
भनव निर्माणकाे काम चार वर्षदेखि अलपत्र अवस्थामा रहेकाे स्थानीबासी धन बढुवालले बताउनु भयाे । बर्थिङ सेन्टर भवन निर्माण गर्ने भनी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको बजेट जिल्ला स्वास्थ्य सेवा कार्यालयमार्फत ०७७ जेठ २० गते सम्झौता भइ ०७७ असार २५ गते आयोजना सम्पन्न गर्ने गरी कार्यालय र उपभोक्ता समिति बीच सम्झौता भएको भए पनि भवन बजेट अभावमा अलपत्र परेको उपभोक्ता समितिका अध्यक्ष गोरबहादुर बढुवालले जानकारी दिनु भयो ।
असार मसान्तको अन्तिम छोटो समयमा आएको बजेट र भएको सम्झौताले न बर्थिङ सेन्टर बन्योे न त कामदारले ज्याला पाए । २० लाख रुपियाँमा भवन निर्माण गर्ने सम्झौता भएको भए पनि बजेट अभावमा बर्थिङ सेन्टर भवनको पहिलो एक किस्ता पेस्की स्वरूप ४ लाख रुपियाँ मात्रै पाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष बढुवालले बताउनुभयो ।
उहाँका अनुसार भवन निर्माणका लागि असार मसान्तको अन्तिममा बजेट आयो जग्गा विवादमै समय गएकाले भवन पूरा गर्न सकिएन पुनः बजेट आउने आशामा काम गरेको भए पनि ४ वर्ष बितिसक्दा पनि बजेट निकासा नहुँदा समस्या भएको हो । बजेट अभावले बर्थिङ सेन्टर भवन चार वर्षदेखि अलपत्र अवस्थामा छ ।
भवनको जग र पिलर मात्रै उठाइएका छन् । २०७७ सालमा निर्माण थालिएको बर्थिङ सेन्टर भवनको निर्माणमा कामदारले ४० दिनसम्म काम गरेका छन् । तर कामदारले ज्यालासमेत पाएका छैनन् । घरखर्च चलाउन र बालबालिकाको पढाइ खर्चको जोहो गर्न काम गरेका भए पनि ४० दिनसम्मको ज्याला नपाएको कामदार रन्नसिह बढुवालले गुनासो गर्नुभयो । चार वर्षसम्म भवन निर्माण नहुँदा बाम गाउँमा महिलाहरू लामो समयको यात्रा गरेर सदरमुकाम पुग्नु पर्ने स्थानीय महिला लालसरा बुढाले बताउनु भयो ।
आर्थिक वर्षको अन्तिममा आएको बजेटले काम सम्पन्न गर्न कठिन भएको देखिन्छ । तर, पछि निर्माण सम्पन्नका लागि बजेट मागका लागि मन्त्रालयमा धाउँदा सुनुवाइ नभएको छायानाथ रारा नगरपालिकाका–१४ का वडा अध्यक्ष जुनबहादुर खड्काले बताउनु भयो।
यता जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख डा. निर्मल नगरकोटीका अनुसार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट असार मसान्तको अन्तिमतिर नाम तोकेरै छायाँनाथ राराको लागि बर्थिङ सेन्टर र खत्याड गाउँपािलकामा पनि बर्थिङ सेन्टर भवन निर्माणका लागि बजेट आयो । त्यसै अनुरूप सम्झौता भइ काम अगाडि बढे पनि काम समयमै सम्पन्न नभएकाले बजेट फ्रिज भएको दावी गर्नुभयो ।
यसका बारेमा पुनः एकपटक सम्बन्धित मन्त्रालयमा कुरा राख्ने र सुनुवाइ भए यसै आर्थिक वर्षमा अधुरो भवनलाई पूर्णता दिने डा.नगरकोटीको भनाइ छ ।
