जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षमा क्षमता भन्दा धेरै थुनुवा राखिदा थुनुवाहरूलाई बस्न समस्या भएको छ ।
दुई ओटा कोठामा गरी पाँच जना पुरुष र पाँच जना महिला राख्ने क्षमता भएको हिरासत कक्षमा अहिले २४ जना पुरुष थुनुवा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा बलात्कार घटनाका ६ जना, सवारी ज्यानको एक, आत्महत्या दुरुत्सानको एक, ज्यानमार्ने उद्योग तथा चाेरी दुई, सहकारीसम्बन्धी ठगी तीन, अभद्र व्यवहार एक, जुवासम्बन्धी कसुर नौ र अपहरण तथा बलात्कार एक जना गरी २४ जना पुरुष थुनुवा राखिएको छ ।
महिला थुनुवा अहिले नभएकोले महिला थुनुवा राख्ने कोठामा समेत पुरुष थुनुवा राख्नुपर्ने बाध्यता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराइले बताउनुभयो । महिला थुनुवा आएमा राख्न समस्या हुने डिएसपी भट्टराइले बताउनुभयो ।
ठाउँको अभावले बस्न समेत समस्या भएको थुनुवा साजन नेपालले बताउनुभयो । ‘सुत्न त कता हो कता बस्न समेत कोचाकोच भएको’ थुनुवा नेपालले बताउनुभयो ।
थुनुवा राख्ने ठाउँ अत्यन्त साँघुरो भएकाले थुनुवा राख्न नयाँ भवन निर्माणको लागि बागमती प्रदेश सरकारको भौतिक तथा पूर्वाधार विकास मन्त्रालयमा रकमको माग गरी पठाएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले बताउनुभयो ।