१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई ०८१ जेठ १७ गते आठ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश दिपक कुमार दाहालको इजलासले आरोपितलाई आठ वर्ष कैद सजाय गर्नुका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई दिनुपर्ने, ३६ हजार ३ सय ३३ रुपियाँ जरिवाना तिर्नुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा जरिवानाको चार प्रतिशत जम्मा गर्नुपर्ने फैसला गरेको हो ।
विद्यालय पढ्न गएकी बालिकालाई विभिन्न प्रलोभन देखाई आरोपितले ०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबी होटलमा लगेर बलात्कार गरेको बालिकाले बताउनु भयो । पीडितकी ४३ वर्षीया आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता नगरेकोमा होटलमा दुबै जना बसेको प्रमाण फेला परेपछि ०८० असोज २३ गते पुनः उजुरी लिएर दर्ता गरिएको सप्तरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले ०८० असोज २४ गते उजुरी दर्ता गरेर सोही दिन गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पीडितको स्वास्थ्य परीक्षण गराएको थियो ।
आरोपित ०८० असोज २४ गते गिरफ्तार भएका थिए । एक वर्ष अघि भएको घटनामा उजुरी दिने हदम्याद गुज्रिनै लाग्दा जिल्ला प्रहरी कार्यालयले दर्ता गरी आरोपितलाई गिरफ्तार गरेको हो । स्वास्थ्य परीक्षण पनि घटनाको एक वर्ष पुग्नै लाग्दा भएको हो ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२९ मा हाडनाता करणीमा जहिले सुकै र अन्यमा एक वर्षभित्र उजुरी दिनुपर्ने हदम्यादको व्यवस्था छ । अन्य केही कसुरमा थाहा पाएको मितिले तीन महिनाभित्र र थुनामा रहेको, नियन्त्रणमा लिएको, अपहरण गरेको वा शरीर बन्धकमा लिएको व्यक्तिविरुद्ध कसुर भएमा थुना, नियन्त्रण अपहरण वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले तीन महिना नाघेपछि उजुर नलाग्ने उल्लेख छ ।
जिल्ला अदालतमा ०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश संजिब पोखरेलको इजलासले कात्तिक १४ गतेदेखि आरोपित बालसुधार गृह वीरगञ्जमा छन् ।