डाक्नेश्वरी नगरपालिका-२ भुतहीकी ५३ वर्षीया जसो देवी खत्वेलाई अमानवीय तथा अपमानजनक व्यवहार गरेको आरोपमा फरार आरोपित सोही ठाउँका ३२ वर्षीय रामचरण साह हाजिर भएपछि अदालतले ०८१ जेठ ९ गते उनलाई पुर्पक्षका लागि २५ हजार रूपियाँ धरौटीमा रिहा गरेको छ ।
जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले आरोपित साहलाई धरौटीमा रिहा गर्ने आदेश गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
यसअघि जिल्ला अदालतमा हाजिर भएका डाक्नेश्वरी नगरपालिका-२ का ३१ वर्षीय गौरीशंकर मण्डल न्यायाधीश संजिब पोखरेलको इजलासबाट जेठ २ गते २५ हजार रूपियाँ र सोही ठाउँका ३० वर्षीय मजेबुल मियाँ न्यायाधीश उदवीर नेपालीको इजलाशबाट जेठ ३ गते ३५ हजार रूपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए ।
आरोपितहरूले ०७९ माघ २८ गते अश्शिल गालीगलौज र कुटपिट गर्दै अमानवीय तथा अपमानजनक व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा माघ २९ गते उजुरी दिनुभएको थियो । आरोपित मजेबुलले भुईमा लडाउना साथ गौरीशंकर र रामचरणले चोलो च्याती छातीमा हात हाली मुक्काले प्रहार गरेको र कपडा खोल्न खोजेको पीडितले बताउनु भयो ।
प्रहरीले उजुरी दर्ता नगरेपछि उच्च अदालत जनकपुर राजविराज इजलासबाट परमादेश जारी भएपछि जिल्ला प्रहरी कार्यालयमा ०८० भदौ ३१ गते अपमानजनक तथा अमानवीय व्यवहारमा उजुरी दर्ता भएको थियो । आरोपितहरू फेला नपरेको भन्दै फागुन ३ गते जिल्ला प्रहरी कार्यालयले प्रतिवेदन बुझाएपछि जिल्ला अदालतमा २०८० चैत ४ गते अभियोगपत्र दायर भएको थियो ।
घर नजिकै रहेको हरीराहा बजारको साप्ताहिक हाटमा गएको बेला पीडितका पति सरयुग मण्डल र छोराहरू श्यामलाल र लालबाबु मण्डललाई सोही ठाउँका गुदर ठाकुर, रामफल राजधोब, दाउद मियाँ, मनान मियाँ, फूलकुमार यादव, कमलदेब यादवले कुटपिट गरिरहेको देखि पति र छोराहरूको ज्यानको पिर लागि गुहार माग्दा नजिकै बेञ्चमा बसिरहेका आरोपितहरूले दुबै हातले अगाडिबाट समाती भुईमा लडाई चोलो च्याती संवेदनशील अंग छातीमा पटक-पटक हात लगाई हातमुक्काले प्रहार गरी अश्लिल गालीगलौज गरी बलात्कार गर्नुपर्छ भनी लुगा फुकाल्न लाग्दा गाउँलेहरूले रक्षा गरेको पीडितले बताउनु भयो ।