INSEC Online

📅 २०८३ जेष्ठ २१

तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता: अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई समस्या

सर्केगाड गाउँपालिका–२ का स्थानीयबासी तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता छ । अरु वैकल्पिक बाटो नहुँदा तुइनको भरमा गाउँपालिका कार्यालयमा पुग्नु पर्ने बाध्यता भएको स्थानीय जय बहादुर कार्कीले गुनासो गर्नुभयो । तुइन तरेर गाउँपालिका कार्यालयमा आउन जान अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई झनै समस्या भएको उहाँको भनाइ छ ।

सरकारले ०७२ मै तुइन विस्तापित भनेता पनि स्थानीय सरकारका जनप्रतिनिधिलाई समेत सोही बाटो भएर आवत जावत गर्नु पर्ने बाध्यता छ । रिपको घाटमा पुल नहुँदा यतिबेला स्थानीयलाई अझै पनि तुइनको भरमा आवत जावत गर्नु पर्ने वाध्यता रहेको छ ।

उक्त ठाउँमा झोलुङ्गे पुल नहुँदा स्थानीयलाई आवत जावतका लागि तुइनको प्रयोग गर्नु पर्ने बाध्यता रहेको हो । सो ठाउँमा पुल नहुँदा वडा नम्बर २ र ३ का रिप, रायाथाली र उनापानी लगायतका गाउँका स्थानीयले ज्यान जोखिममा राखेर तुइन तरेर आवत जावत गर्नु पर्ने बाध्यता  छ ।

कर्णाली करिडोरको सडक खण्डले नछोएका गाउँ बस्ती जोड्ने सामान्य झोलुङ्गे पुल समेत नहुँदा तुइनको प्रयोगले वारपार गर्नु परेको स्थानीयको गुनासो छ । गाउँका बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरु तुइनको भरमा रहेको स्थानीय गिता कार्कीले बताउनुभयो । उहाँले पुल नभएकै कारण केही दिन अघि मात्रै जस्तापाता र पाइप खसेर कर्णाली नदिमा खसेर बगेको पीडा सुनाउनुभयो । गाउँपालिकामा जाँदा रातीको समयमा अझ थप समस्या हुने गरेको उहाँको भनाइ छ ।

स्थानीय बिरामी पर्दा, गाउँको उत्पादन बजार पुर्याउँदा र बजारको उपभोग्य वस्तु गाउँ पुर्याउँदा तुइनकै प्रयोग गर्नु परेको छ । यसै त तुइनमा जोखिम त्यसैमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु ढुवानी गर्नु पर्दा समस्या हुने गरेको उहाँले बताउनु भयो ।

सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्र सिहं कार्कीले रिपको घाटमा पुलको व्यवस्था नहुँदा गाउँका सबै स्थानीयबासी तुइन तरेर गाउँपालिका आउने जाने गरेको बताउनुभयो । दुर्गम ठाउँमा गाडी सुविधा नहुँदा आवत जावतमा सकस भएको बताउदै उहाँले तुइन तरेर गाउँपालिकाको केन्द्र झापु पुग्ने गरेको बताउनुभयो ।

सुगम ठाउँका स्थानीयले आकासे पुलको प्रयोग गर्नु पर्ने अवस्थामा दुर्गम ठाउँका स्थानीयले ज्यान जोखिममा राखेर तुइनको प्रयोग गर्नु परेको बताउनुभयो । राज्यले पुल निमार्णका लागि सहयोग नगरेको प्रति स्थानीयबासीको गुनासो रहेको छ ।

रिप गाउँभन्दा पारीपट्टि दैनिक दिन सडकमा सवारीहरू सञ्चालन भएपनि यहाँका स्थानीयबासी तुइनकै भरमा रहेको गाउँपालिका उपाध्यक्ष चन्दसिंह कार्कीले बताउनु भयो । भए बेलिब्रिज नभए झोलुङ्गे पुल सम्म निमार्णका लागि प्रदेशदेखि संघीय सरकार समक्ष पटक पटक आग्रह गरे पनि वास्ता नभएको उपाध्यक्ष कार्कीको भनाइ छ ।

देशका विभिन्न ठाउँमा रहेका तुईन हटाएर झोलुङ्गे पुल निमार्णको योजना अगाडि सारिएको आठ वर्ष वितिसक्दा पनि तुइन विस्थापितको लक्ष्य पुरा हुन नसक्दा दुर्गम ठाउँका नागरिक अझै पनि तुइनकै भरमा नदी वारपार गर्न बाध्य भएका छन् ।

Photo20240520Humla (1)

Photo20240520Humla (2)

अन्य

भिडियो