जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो पटक वडा स्तर गाउँमै पुगेरे वितरण टोली मार्फत अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । हालसम्म परिचय पत्र नपाएका अपाङ्गता भएका व्यक्तिहरूलाई नयाँ अपाङ्गता परिचय पत्र तयार पारेर प्रदान गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिहरु भत्ता पाउनबाट वञ्चित भएपछि गाउँमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएकाे हाे । अपाङ्गता भएकाहरूका व्यक्तिहरूलाई वितरण समितिको सिफारिसको आधारमा अपाङ्गता परिचय पत्र वितरण प्रदान गर्ने कार्य जेठ १ गते देखि शुरु भएको नाम्खा गाउँपालिका उपाध्यक्ष तकदिर लामाले बताउनुभयो । उहाँले हालसम्म परिचय पत्र पाउनबाट वञ्चित भएका र सदरमुकाम सिमकोटसम्म आउन नसक्ने त्यस्ता व्यक्तिहरूका लागि शिविर सञ्चालन गरेर परिचय पत्र प्रदान गरिएको बताउनुभयो ।
नाम्खा गाउँपालिका–४ बाट सुरु गरेर चार दिन लगाएर परिचय पत्र वितरण गरिएको थियो । गाउँपालिकाकाको–१ देखि ५ सम्मका बस्तीहरू हेप्का, धिंगा, ताङ्गीन, खगालगाउँ, लुम, लामा खोल्सी, च्यादुक, केर्मी, चाला, यालवाङ, याङ्गार, मुचु, तुम्कोट र यारीका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र प्रदान गरिएको छ । शिविरमा ३६ जना महिला र २४ जना पुरुष गरी ६० जना विभिन्न वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र प्रदान गरिएको हो । यसमा एक जना क वर्गका अपाङ्गता भएका व्यक्ति र अन्य ख, ग र घ वर्गका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको उपाध्यक्ष लामाको भनाइ छ ।
पहिलो पटक परिचय पत्र पाएसँगै अब गाउँपालिकाबाट पाउने सेवा सुविधा पनि सहजै पाउने भएका छन् । परिचय पत्र नपाएका कारण यसअघि आंशिक र पूर्ण अपाङ्गता व्यक्तिहरु भत्ता पाउनबाट वञ्चित हुँदै आएका थिए ।
