INSEC Online

📅 २०८३ जेष्ठ २१

योजनाको काममा ढिलासुस्ती हुँदा स्थानीयबासीलाई खानेपानीको समस्या

शारदा नगरपालिका–१४ र १५ नम्बर वडा माल्नेटामा खानेपानीको समस्या भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित वृहत् लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयबासीलाई समस्या हो ।

विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाइ गर्दा माल्नेटाका स्थानीयबासीलाई खानेपानीको लागि सास्ती भएको हो । एक गाग्री पानीका लागि बस्तीदेखि एक घन्टा हिँडेर तलको मुहानमा गएर पानी ल्याउन बाध्य भएका छन् ।

०७६ असारदेखि निर्माण सुरु भएको वृहत् लिफ्ट खानेपानी योजनाको काम निर्माण कम्पनीले अहिलेसम्म करिब ९० प्रतिशत मात्र गरेको छ । सम्पन्न गर्ने अवधि दुई वर्षको रहेकोमा दुई वर्ष ढिला भैसक्दा पनि काम पूरा नहुँदा स्थानीयबासी निराश छन् । शारदा नगरपालिका–१४ र १५ नम्बर वडा माल्नेटाका ७ सय ५० परिवारलाई घरघरमै पानी पु¥याउने उद्देश्यका साथ योजना निर्माण सुरु गरिएको थियो । योजना सञ्चालनका लागि विश्व बैंकले ११ करोड रुपियाँ अनुदान दिएको थियो भने ७ सय ५० घरधुरीले प्रतिघर ४ हजार ५ सय रुपियाँका दरले ३३ लाख ७५ हजार रुपियाँ उठाएका थिए ।

योजनाको काममा भएको ढिलाइले गर्दा आफूहरुले विगतदेखि खानेपानीको लागि सास्ती भोग्दै आएको स्थानीयबासी ४३ वर्षीया चन्द्रिका बुढाथोकीले बताउनुभयो । ०४४ मा एशियाली विकास बैंकबाट सञ्चालित खानेपानी योजना जीर्ण भएर धारामा पानी आउन छाडेपछि झन्डै दुई दशकदेखि माल्नेटा बस्तीमा खानेपानीको हाहाकार हुँदै आएको उहाँको भनाइ छ । ‘बस्ती आसपासका मुहान सुकेपछि एक गाग्री पानीका लागि एक घन्टा हिँड्नु पर्छ’ उहाँले भन्नुभयो ‘बिहानै नगए मुहानमा पानी भर्न पाइदैन, सबेरै आँखा मिच्दै टर्च बालेर मुहान जानुपर्ने बाध्यता छ, एक पटकमा एक गाग्री भन्दा बढि पानी ल्याउन नपाइने भएकाले बारम्बार कुवामा धाउनु पर्छ, पानीको लागि लामो समय कुर्नु पर्ने हुन्छ ।’

विगतदेखि खानेपानीको समस्या भएको माल्नेटामा आसपासमा भएका मुहान पनि सुक्दै गएकाले कपडा धुन तथा नुहाउन शारदा नदी झर्नुपर्ने बाध्यता रहेको स्थानीय निर्मला घर्तीले बताउनुभयो । ‘बढ्दो गर्मीसँगै मुहानमा पानीको मात्रा कम भएपछि एक जनाले एक पटकमा एक गाग्री मात्र पानी ल्याउन पाइन्छ, त्यो पानी खाना पकाउने की, अन्य कामको लागि प्रयोग गर्ने समस्या भएको छ,’ उहाँले भन्नुभयो ‘अहिले घरमा एक जनाको काम पानी भर्ने मात्र छ, पाहुनालाई पानीकै समस्याका कारण लामो समयसम्म घरमा बसाल्न सक्ने अवस्था छैन ।’

स्थानीय ज्ञानदेव घर्तीले बारम्बार ताकेता गर्दै आए पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै आएको बताउनुभयो । ‘निर्माण कम्पनीले बस्तीमा पाइपलाइन गत वर्ष नै विस्तार गरिसकेको थियो, शारदा नदीबाट पानी तान्नका लागि बोरिङको काम सम्पन्न गरिसकेको छ, योजनाको म्याद थप गरे पनि पर्याप्त जनशक्ति लगाउन सकेको छैन,’ उहाँले भन्नुभयो ‘निर्माण कम्पनीको यो ढिलासुस्तीले यस वर्ष पनि स्थानीयले घरघरमा पानी खान पाउने सम्भावना देखिदैन ।’

योजनाको काममा भएको ढिलाइ र अर्कोतिर मुहानमा पानी स्रोत घटे पनि अहिले सबैलाई पानी पु¥याउन एक पटकमा एक जनाले एक गाग्री मात्र पानी ल्याउने नियम लागु गरेको उहाँको भनाइ छ । खानेपानीकै समस्याका कारण बस्तीका धेरैले बसाइँसराइ गरिसकेको उहाँले बताउनुभयो ।

योजना सञ्चालन समितिका अध्यक्ष यादवप्रसाद उपाध्यायले छिटो काम गरे तीन महिना भित्रैमा बस्तीमा खानेपानी पु¥याउन सकिने देखिए पनि निर्माण कम्पनीले काममा तिब्रता दिन नसकेको बताउनुभयो । समितिबाट आफूहरुले ताकेता गरिरहेको तर विभिन्न कारण देखाएर आलटाल गरिरहेको उहाँको भनाइ छ । ‘शारदा नदीबाट पानी तान्ने ट्याङ्की बनाउन समस्या देखिएपछि निर्माण कम्पनीले केही ढिलाइ गरेको थियो, अहिले ट्याङ्की बनाइसकेको छ, जनशक्ति बढाएर नियमित काम गरेमा तीन महिनाभित्रै योजना सम्पन्न हुने देखिन्छ तर कामको गति हेर्दा सम्पन्न हुने सम्भावना कम देखिएको छ,’ उहाँले भन्नुभयो ।

ट्याङ्की को डिजाइनमा समस्या भएकाले काममा ढिलाइ भए पनि इन्टेकको काम सम्पन्न भएकाले यो आर्थिक वर्षभित्रै योजना सम्पन्न गर्ने तयारीमा लागेको सगरमाथा ड्रिलिङ्ग निर्माण सेवाका इन्जिनियर रमेश शर्माले बताउनुभयो । छिटो भन्दा छिटो योजनाको काम सम्पन्न गर्न आवश्यक पर्ने सबैजसो सामग्री जुटाइरहेको उहाँको भनाइ छ ।

Photo20240519Salyan

 

 

अन्य

भिडियो