जिल्ला कारागार, चौताराको पुरुष बन्दीगृह ०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि पुनर्निर्माण हुन नसक्दा कैदीबन्दीहरुलाई बस्न समेत समस्या भएको छ ।
भूकम्पले ध्वस्त भएको बन्दीगृह पुनर्निर्माण नहुँदा नौ जना क्षमताको रहेको महिला बन्दीगृहमा अहिले १ सय ३८ जना पुरुष कैदीबन्दीहरुलाई राखिएको जेलर रामबहादुर सार्कीले बताउनुभयो ।
महिला बन्दीगृहमा भूकम्पपछि पुरुष मात्र राख्ने गरिएको छ । बन्दीगृहमा ९५ जना कैदी र ४३ जना थुनुवा राखिदा कैदीबन्दीहरुलाई बस्न साँघुरो भएको, शौचालयमा लाइन लागेर जानुपरेको र खाना खाँदा पनि आलोपालो गर्नुपर्ने अवस्था रहेको कैदी भरत ढुंगानाले बताउनुभयो । ढुंगानाका अनुसार जेलभित्र कैदीबन्दीहरुलाई सामान्य हिँड्डुल र घुमफिर गर्न समेत समस्या भएको छ ।
भूकम्पले ध्वस्त भएको जेल पुनःनिर्माणको लागि माथिल्लो निकायमा विभिन्न समयमा पत्राचार भएपनि हालसम्म काम सुरु नभएको जेलर रामबहादुर सार्कीले बताउनुभयो । नयाँ बन्दीगृह निर्माण गर्ने सम्पूर्ण काम मन्त्रालयको भएको हुँदा आफूलाई निर्माण सम्बन्धी कुनै जानकारी नहुने जेलर सार्कीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।