व्याँस गाउँपालिका–२ मा तीन महिनायता खाद्यान्न ढुवानी भएको छैन् । राप्ला डिपोमा चामल ढुवानी नभएपछि दुम्लीङबस्तीमा खाद्यान्नको अभाव भएको छ ।
सडक सञ्जाल नपुगेको दुम्लीङमा खाद्यान्न ढुवानी नहुँदा समस्या भएको स्थानीय प्रभात बुढाथोकीले गुनासो गर्नु भयो । एक महिनादेखि चामल गाउँमा पाउन छोडेको छ । निर्माणाधीन दार्चुला–तिंकर सडक खण्डमा गाडी चल्दैन् । नेपाली सेनाले निर्माण गरिरहेको सडक खण्डमा असारसम्म ट्याक्टर गुडाउने तयारी छ ।
एक महिनादेखि चामलको लागि पहल भए पनि सुनुवाइ भएको छैन् । नेपालतिर बाटो नहुनु तथा भारतबाट खाद्यान्न ल्याउन नेपाल भारत जोड्ने झोलुङ्गे पुल छैन् । तुइन लगाउँदा एसएसबीले काटिदिन्छन् । तुइनबाट ल्याउन जोखिमपूर्ण छ । चामलको विषयमा स्थानीय सरकारदेखि खाद्य संस्थानलाई आग्रह गरिएको भए पनि अझै चामल ढुवानी नभएको बुढाथोकीले बताउनु भयो ।
दुम्लीङमा मात्रै १ सय ५ घरधुरीको बसोबास छ । अहिले यार्सागुम्बा संकलनको लागि पाटनतिर जानुपर्ने बेला भएको छ । खाद्यान्न गाउँघरमा पनि चाहिन्छ । गाउँमा उत्पादन भएको अन्नले तीन महिना धान्न मुस्किल हुन्छ, स्थानीय महेन्द्रसिह बुढाथोकीले भन्नु भयो, हाम्रो पीडा सुनिदिने कोही भएन् ।
तुइनबाट वारपार गर्दा कयौँले ज्यान गुमाइसकेका छन् । अहिले पनि भारतबाट जोखिमपूर्ण तवरले खाद्यान्न ढुवानी गर्नु पर्ने अवस्था सिर्जना भएको स्थानीय बताउँछन् ।
राप्ला डिपोमा खाद्य संस्थानबाट ५ सय क्वीन्टल चामलको कोटा भए पनि गत माघ महिनादेखि डिपोमा चामल सकिएको छ । डिपोमा चामल नपुग्दा राप्लाका ८० घर परिवार पनि समस्यामा छन् ।
व्याँस गाउँपालिका वडा नम्बर २ राप्ला डिपोमा खाद्यान्नको चामल सकिएपछि अहिले यहाँका स्थानीय भारतीय बजार धार्चुला र गस्कुबाट चामल किनेर खान बाध्य छन् ।
राप्लासम्म चामल ढुवानीको जिम्मेवारी पाएका निर्माण व्यवसायी गणेश सिह रावलका अनुसार नेपाल खाद्य संस्थानमा चामल मौज्दात नभएकाले राप्ला डिपोमा खाद्यान्न ढुवानी नभएको तर्क गर्नु हुन्छ । राप्ला डिपोका लागि १ हजार क्वीन्टल चामल माग गरिएको हो ।
राप्ला डिपोको लागि खाद्यान्न माग गरिएको भए पनि ढुवानी हुन नसकेको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिह धामीले बताउनु भयो । हामीले खाद्य संस्थान जिल्ला प्रशासन कार्यालय सबैलाई मौखिक तथा लिखित रुपमा खाद्यान्न अभाव बारे जानकारी गराएका छौँ अध्यक्ष धामीले भन्नु भयो, छिट्टै ढुवानी हुने आश्वासन दिइएको छ ।