अपाङ्गता भएका व्यक्तिको प्रदर्शनमा प्रहरीले बल प्रयाेग गरेकाे छ । प्रहरीले १८ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ भने ६ जना घाइते भएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरू र सकारबिच विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरूले ०८१ जेठ २ गते पर्यटन बोर्ड अगाडि प्रदर्शनका क्रममा प्रहरीले १८ जनालाई गिरफ्तार गर्नुको साथै बल प्रयोग गर्दा ६ जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा रिसी ढकाल, सर्मिला बिक, बेगबहादुर तमाङ, लक्ष्मण मगर, रमेश खड्का र गीता ढकाल रहेका छन् । घाइतेहरूको वीर अस्पताल काठमाडाैँमा उपचार भइरहेको छ ।
यसगरी गिरफ्तार हुनेहरूमा विकास थापा, पर्वतराज विष्ट, बासुदेव यादव, सीता भण्डारी, शरण श्रेष्ठलगायत १८ जना रहेका छन् । उनीहरूलाई सोही दिन साँझ रिहा गरेको प्रहरीले जनाएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका— ७ का दिपक भण्डारी धर्नामा बसेको बेला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिहरूसँग गत चैत १२ गते भएको सहमति अनुसार २०८१ वैशाख १ गतेबाट सामुदायिक सहायता सेवा सुरूवात नभएको विरोधमा उनीहरूले विगत १९ दिनदेखि शान्तिवाटिकामा अनशन बसिरहेका छन् ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ । त्यसको कार्यान्वयनका लागि आवश्यक मापदण्ड र कार्यक्रम बनाउन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय समितिसमेत गठन गरिएको थियो ।
समितिमा राष्ट्रिय अपाङ्ग महासंघ, नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र दीपक भण्डारी सदस्य रहनु भएको थियो ।
कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेश गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।
