लक्ष्मीनिया गाउँपालिका-५ बनिनिया की २६ वर्षीया अनिता यादवको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । घटनाको विरोद्धमा पीडित परिवारले अस्पतालमा तोडफोड गरेका छन् ।
मृतकका पति २८ वर्षीय अमर यादवले वैशाख २८ गते शनिबार मध्यराती पत्नीलाई व्यथा लागेपछि जानकी मेडिकल कलेज लगेकाे बताउनु भयाे । वैशाख ३० गते बिहान ११ बजे शल्यक्रियाद्वारा भएकाे सुत्केरी पश्चात शिशु सकुशल रहेपनि पत्नीको मृत्यु भएकाे खबर डाक्टरले दिएकाे उहाँले बताउनु भयाे ।
चिकित्सकको लापरबाहीको कारण यस्तो घटना भएको भन्दै अस्पतालमा तोडफोड गरेका मृतकका पति अमर यादवले बतानु भयो । तर, मेडिकल कलेजका डाक्टर विजयकुमार शाहले अस्पतालद्वारा लापरबाही नभएको बताउनु भयो ।
त्यस्तै, शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मृतकका परिवारले अस्पतालमा तोडफोड गरेपछि अस्पताल परिसर केहीबेर तनावग्रस्त रहयो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी टोली र क्षिरेश्वरनाथ नगरपालिकाको नगरप्रमुख सुखदेव यादव, वडा नं १ का वडा अध्यक्ष मकेश्वर यादव, वड नं ६ का वडाध्यक्ष बिनोद गुप्तालगायतका जनप्रतिनिधिहरू घटनास्थल पुगेर छलफलको वातावरण बनाएपछि अवस्था सामान्य भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर दीपक कार्कीले जानकारी दिनु भयो ।
त्यसैगरी, वैशाख ३१ गते राति ८ बजे मृतकका परिवार र अस्पताल प्रशासनबीच भएको छलफलमा मृतकको कृया खर्च बापत ३ लाख ५० हजार र छोराछोरीको पठनपाठनका लागि १० लाख रुपियाँ गरी जम्मा १३ लाख ५० हजार रुपियाँ र मृतकका पतिलाई योग्यताको आधारमा रोजगारी दिने भनि सहमति भएको मृतकका २४ वर्षीय भतिजा सुबोध यादवले जानकारी दिनु भयो ।