INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य बिमाबाट कर्णालीका ७१ प्रतिशत नागरिक वञ्चित

कर्णाली प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको आठ वर्षको अवधिमा २९.२६ प्रतिशत जनसङ्ख्या मात्रै बिमाको पहुँचमा छन् । कर्णालीमा ७१ प्रतिशत जनसङ्ख्या अझैपनि स्वास्थ्य बिमाको पहुँच बाहिर रहेको पाइएको छ ।

राष्ट्रिय जनगण्ना २०७८ अनुसार कर्णालीको जनसङ्ख्या १६ लाख ८८ हजार ४ सय १२ रहेको छ । जसमध्ये २९.२६ प्रतिशत अर्थात् ४ लाख ५८ हजार ८ सय २१ जना मात्रै बिमामा आबद्ध भएको राष्ट्रिय बिमा बोर्डकी कर्णाली प्रदेश संयोजक सिर्जना पौडेलले जानकारी दिनुभयो । आशा गरेजति सङ्ख्यामा नागरिकहरु स्वास्थ्य बिमाको पहुँचमा आउन नसकेको उहाँले बताउनुभयो ।

आठ वर्षको अवधिमा २९ प्रतिशत मात्रै बिमामा आबद्ध भएको र ७१ प्रतिशतलाई बिमामा आबद्ध गराउनुपर्ने चुनौती रहेको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा बढी जुम्लामा ८३ प्रतिशत बिमामा आबद्ध छन् । १ लाख ८ हजार ९ सय २१ जनसङ्ख्यामा ९० हजार ४ सय ११ जना बिमामा आबद्ध छन् । सबैभन्दा कम सल्यानका नागरिक बिमा कार्यक्रममा आबद्ध छन् । २ लाख ४१ हजार ७ सय १६ जनसङ्ख्यामा ६ प्रतिशत अर्थात् १४ हजार ६ सय ५० जना सल्यानमा मात्रै बिमा गरेका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा २५.७८ प्रतिशतले बिमा गरेका छन् । ४ लाख १७ हजार ७ सय ७६ जनसङ्ख्या रहेको सुर्खेतमा एक लाख सात हजार ७०६ जनाले मात्र बिमा गरेको प्रदेश संयोजक पौडेलले जानकारी दिनुभयो ।

रुकुमपश्चिममा १ लाख ५४ हजार २ सय ७२ जनसङ्ख्यामा ८० हजार ५ सय २७ अर्थात् ५२.१९ प्रतिशतले बिमा गरेका छन् । जाजरकोटको २ लाख ७१ हजार ३ सय ४ जनसङ्ख्यामा ४९ हजार ९ सय ४२ अर्थात् २९.१५ प्रतिशत, कालीकोटको १ लाख ३६ हजार ९ सय ४८ जनसङ्ख्यामा ५३ हजार ८ सय १९ अर्थात् ३९.२९ प्रतिशत स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।

दैलेखमा २ लाख ६० हजार ८ सय ५५ जनसङ्ख्यामा ३३ हजार २ सय ३६ अर्थात् १२.७४ प्रतिशत, मुगुको ५५ हजार २ सय ८६ जनसङ्ख्यामा ७ हजार ८ सय १५ अर्थात् १४.१३ प्रतिशत, डोल्पाको ३६ हजार सात सय जनसङ्ख्यामा ४ हजार ८ सय ५४ अर्थात् १३.२२ प्रतिशत र हुम्लामा ५० हजार ८ सय ५८ जनसङ्ख्यामा १५ हजार ८ सय ६१ अर्थात् ३१.१८ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएको बिमा बोर्डको कर्णाली प्रदेश कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

संयोजक पौडेलले अब सरकारले कर्मचारीलाई पनि बिमामा आबद्ध गर्ने योजना गराएको, पहिलो सेवा पाउन तीन महिना लाग्ने गरेकोमा अबदेखि दुई महिनामा झारेको हुँदा पहुँचको अवस्था बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

बिमामा रहेको झन्झटिलो प्रक्रियालाई सहज बनाउन आवश्यक रहेको प्रदेश स्वास्थ्य बिमा समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेल बताउनुभयो ।साथै बिमा साक्षरता कार्यक्रम आवश्यक रहेको उहाँले बताउनु भयो ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले बिमामा अझै पनि प्रचार नपुगेको हुँदा यसको व्यापक प्रचार गर्नुपर्ने बताउनुभयो । उहाँले अब स्थानीय तहमा पनि यसको सेवा विस्तारको आवश्यकता रहेको बताउनुभयो ।

भौगोलिक विकटता र सेवा प्रदायक स्वास्थ्य संस्थाको अभावका कारण कर्णालीबासीले चाहेर पनि सेवा उपभोग गर्न सकिरहेका छैनन् । त्यस्तै प्रदेशमा सुविधायुक्त स्वास्थ्य संस्थाहरू नहुनु र भएका संस्थाहरू पनि भौगोलिक विकटताका कारण नागरिकको पहुँचबाहिर हुँदा समस्या भएको छ ।

अन्य

भिडियो