INSEC Online

📅 २०८३ जेष्ठ २१

रातभरी परेको पानीका कारण बुटवल बजार डुवान हुँदा लाखौँ बराबरको क्षति (फोटो फिचर)

बुटवल उपमहानगरपालिकामा ०८१ वैशाख २९ गते राति परेको पानीका कारण बुटवल बजार डुवान हुँदा लाखौँ बराबरको क्षति भएको छ । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरू फोहोरले पुरिएकाले वर्षासँगै नाली भरिएपछि बाजार क्षेत्रमा बाढी पसेको हो ।

यसैगरी बुटवस्थित सोह्रछत्तिस कुलोबाट बाढी बुटवलको न्यु होराइजन माविमा पसेपछि वैशाख ३० गते विद्यालय बन्द गर्नु परेको छ । कुलोमा रहेको गेट बन्द भएको समयमा राती परेको वर्षाले कुलो भरिएर विद्यालयमा प्रवेश गरेपछि विद्यालयको तल्लो तलाका सबै कक्षा कोठाहरू डुबेका छन् भने विद्यालयको मैदानमा लेदोले भरिएको छ ।

डुबानका कारण पश्चिम नेपाल बस व्यवसायी प्रालिको प्रधान कार्यालय, रुपन्देही उद्योग सङ्घको कार्यालय तथा राष्ट्रिय समाचार समिति रासस कार्यालयमा फर्निचर, कागजात तथा लत्ताकपडा नष्ट गरेको छ । यसैगरी बुटवलको व्यस्त बजार क्षेत्र अमरपथ, विकासपथ, हाटबजार लाइन लगायतका सडकमा हिलो तथा पातपतिङ्गरले भरिएपछि डोजर लगाएर सफा गरिएको छ । एक्कासी परेको पानी र नालीहरू पुरिएर फोहोर जमेका कारण यहाँका दर्जनौँ पसलहरूमा बाढी पसेर लाखौँ रकम बराबरको क्षति भएको छ ।

राष्ट्रिय समाचार समिति लुम्बिनी प्रदेशका प्रमुख भरत केसीले पानीका कारण ल्यापटप, प्रिन्टर, कम्प्युटर, कागजातहरू बिग्रिएको र आफू बस्ने, सुत्ने सामग्रीहरू तथा लत्ता कपडाहरू समेत काम नलाग्ने भएको र कार्यालयको पर्खाल समेत भत्किएको बताउनु भयो ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले रातभरी परेको पानीका कारण बुटवलको फूलबारी क्षेत्र, साना गाउँ, आदर्शनगर क्षेत्र, पश्चिम नेपाल बस व्यवसायी प्रालिको कार्यालय, रुपन्देही उद्योग सङ्घको कार्यालय, रासस कार्यालय वरिपरी, मनकामना टोल र न्यू होराइजन विद्यालय क्षेत्र लगायतका घर तथा कार्यालयमा पानी पसेर डुबानमा परेको र अधिकांश ठाउँमा अहिले सफाइको काम सकिन लागेको बताउनु भयो ।

नगर प्रमुख पाण्डेले सोह्रछत्तिस कुलोमा रहेको गेट बन्द भएकाले यति ठूलो समस्या आएको बताउँदै कतिपय कपडा पसल, उद्योगहरूमा पनि पानी पसेर डुबानले ठूलो क्षति भएको बताउनु भयो । कालिका नगरस्थित शुभनारायणी फर्निचर उद्योगमा रहेको करिब ५ लाख बराबरको सबै प्लाइउड भिजेर नोक्सान भएको छ । कुलोको पानी सबै फर्केर घरपसलमा पानी पसेर धेरैको क्षति पुर्‍याएको र क्षतिको एकिन विवरण आउन बाँकी रहेको नगर प्रमुख पाण्डेले बताउनु भयो ।

Photo13052024Rupandehi

Photo13052024Rupandehi1

Photo13052024Rupandehi2

Photo13052024Rupandehi3

Photo13052024Rupandehi4

Photo13052024Rupandehi5

Photo13052024Rupandehi6

Photo13052024Rupandehi7

Photo13052024Rupandehi8

Photo13052024Rupandehi9

अन्य

भिडियो