बालसुधार गृहमा क्षमताभन्दा बढी बालबन्दीहरू राख्दा बालकहरूको स्वास्थ्यमा समस्या भएको छ । भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको भनिए पनि अहिले ९० जना बालबन्दीहरू रहेका छन् । क्षमताभन्दा बढी बस्नुपर्दा सुत्न, नुहाउन र शौचालय जान पालो कुर्नु परेको छ ।
बालसुधार गृहमा ९० जना बालकहरू मध्ये ५७ जना कैदी र २९ जना थुनुवाहरू रहेका छन् । त्यस्तै विदेशी चार जना रहेका छन् भने सबैभन्दा बढी बलात्कारका ४९ जना, कर्तव्य ज्यानका १४ जना, बलात्कार प्रयासका ६ जना, यौन दुर्व्यवहारका दुई जना, अपहरण तथा शरीर बन्धकका एक जना, सवारी ज्यानका चार जना लगायतका बालकैदी र थुनुवाहरू रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनु भयो ।
क्षमताभन्दा बढी बालबन्दी राख्नु पर्दा छालाको सङ्क्रमण, दाद, लुतो, नशा जस्ता समस्याहरूले दु:ख दिएको र गर्मीको समयमा बस्न, सुत्नलाई पालो कुरेर सुत्नुपर्ने बाध्यता रहेको छ । ०७५ भदौ १ गतेबाट सञ्चालन भएको बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरू राख्नुपर्दा, हिँड्डुल गर्न नपाएपछि नशाको समस्या आएको, घाम देख्न नपाउँदा छालासम्बन्धी सरुवा रोगको प्रकोप जस्ता समस्या भएको बालसुधार गृहको कार्यालय सहयोगी पिताम्बर न्यौपानेले बताउनु भयो ।
बालसुधार गृह मापदण्ड अनुसार सञ्चालन हुन नसकेको र सात जनाको दरबन्दी रहेको बालसुधार गृहमा अहिले एक जना कार्यालय सहयोगी कर्मचारीको भरमा सञ्चालन भइरहेको छ । दुई हप्ता अगाडि बालसुधार गृहका प्रमुख कल्पना अर्याल सरुवा भएर जिल्ला निर्वाचन कार्यालयमा गएपछि सुधार गृह कार्यालय प्रमुख विहीन भएको हो । बालसुधार गृहमा रहेका बालकहरूले राज्यबाट पाउनु पर्ने शिक्षाको अधिकार, कानुन व्यवसायी राख्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, मनोरञ्जनको अधिकार, पोषणयुक्त खाना खान पाउने अधिकार, स्वच्छ वातावरणको अधिकार, न्यायाधीश समक्ष बयान दिन सक्ने लगायतका अधिकारबाट वञ्चित रहेका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहका विषयमा आफूहरू संवेदनशील भएर लागेको बताउँदै बालसुधार गृहलाई स्थानान्तरण गर्न सिद्धार्थनगर नगरपालिकामै तीन बिघा एक कठ्ठा जग्गाको लागि यहाँबाट सम्पूर्ण निर्णय गरी काठमाडौँ पठाइसकेको र आफूले बालसुधार गृहको अवस्थालाई नजिकबाट अनुगमन गरी स्थानीय सरकारका प्रतिनिधिहरू, स्थानीय सरोकारवालाहरूसँग समन्वय गरेर उनीहरूको आधारभूत पोषणयुक्त खाना, सहज रूपमा बस्ने, हिँड्डुल र कसरत गर्न सक्ने व्यवस्थाका लागि पहल गरिरहेको बताउनु भयो ।