चौतारा सागाचोकगढी नगरपालिका–५ स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिहरूलाई ०८१ वैशाख २६ गते इन्सेक जिल्ला प्रतिनिधिको पहलमा कम्मल वितरण गरिएको छ ।
प्रहरी हिरासतमा अनुगमन गर्ने क्रममा इन्सेक प्रतिनिधिसँग वैशाख २१ गते हिरासतमा रहेका व्यक्तिहरूले ओढ्नको लागि कम्मल नभएको गुनासो गरेका थिए ।
प्रहरी हिरासतमा रहेका व्यक्तिहरूले मानवीय व्यवहार भोग्न नपाएको भन्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, सिन्धुपाल्चोकमा इन्सेक प्रतिनिधिले कम्मलको माग गरेपछि १० थान कम्मल प्राप्त भएको थियो ।
रेडक्रस सोसाइटीबाट प्राप्त भएको कम्मल इन्सेक प्रतिनिधिले रेडक्रस प्रतिनिधिको रोहवरमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादव मार्फत हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयले बैंकिंङ्ग कसुर मुद्दका तीन, ज्यानमार्ने उद्योगका एक, बलात्कार प्रयासको घटनाका एक र सवारी ज्यान मुद्दाको दुई गरी सात जना व्यक्तिहरू अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।
कम्मल ग्रहण गर्दै इन्स्पेक्टर यादवले इन्सेकको पहलमा गरिएको यो सहयोगले हिरासतमा बस्ने व्यक्तिहरूलाई सहज हुने बताउदै इन्सेकलाई धन्यवाद दिनु भयो ।
