
सप्तकोशी नगरपालिका-१, फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडभित्र सो बैंकका सुरक्षा गार्ड सप्तकोशी नगरपालिका-२ का ५६ वर्षीय परशुराम फुयालको अपरिचित व्यक्तिबाट हत्या भएको अवस्थामा ०८१ वैशाख २७ गते बिहान शव फेला परेको छ ।
मृत फेला परेका फुयालको खुकुरी प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले इन्सेक प्रतिनिधिलाई जानकारी दिए ।
बैंक स्रोतका अनुसार फुयालको शवको वरिपरी रगतका टाटा देखिएको छ । सोही बैंकका अर्का सुरक्षा गार्ड कर्ण थापाका अनुसार बिहान ७ बजेसम्म पनि गार्डको कोठा नखुलेपछि बैंकका कर्मचारीलाई शंका लागेर ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका हुन । उदयपुरको त्रियुगा नगरपालिका गाईघाटका थापा भने आमाको श्राद्ध गर्न वैशाख २६ गते घर गएका थिए ।
डिएसपी नेउपानेका अनुसार बैंकको सीसीटीभी फुटेज हेर्दा राती करिव १२ बजेपछि नकावधारी एक जना व्यक्ति बैंकभित्र पसेर हत्या गरेको देखिन्छ । लुटपाट गर्ने उद्देश्यले आएका अपरिचित व्यक्तिले हत्या गरे पनि बैंकबाट चोरी गर्ने प्रयास भने सफल नभएको बैंकले जनाएको छ । हत्या घटनाको थप अनुसन्धानका लागि धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढ परिसरको केनाइन शाखाबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार तालिमप्राप्त कुकुर परिचालन गरिए पनि आरोपित पत्ता लाग्न सकेको छैन ।
मृतकका आफन्तहरूले वैशाख २७ गते राति बैंकसँग सहमति भएपश्चात मात्र शव उठाउन दिएका छन् । शव उठाउन नदिएपछि प्रहरीले लाठीचार्ज समेत गर्नु परेको थियो । मृतक परिवारलाई बैंकमा रोजगारी र उचित क्षतिपूर्तिको सहमति पश्चात शव पोष्टमार्टमका लागि वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको सप्तरी प्रहरीले जनाएको छ । मृतक फुयालका एक पत्नी, दुई छोरा र दुई छोरी छन् ।