प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् ।
आयोगको मिडिया सेन्टरमा असोज १ गते आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाता मतदानका लागि उत्साह र आतुरताकासाथ प्रतीक्षामा रहेको बताए ।
लोकतन्त्रको आधारशीलाका रुपमा रहेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आफ्नो अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्न आयोगले आग्रह पनि गरेको राससले जनाएको छ ।
प्रमुख आयुक्त डा. यादवले भने-“प्रदेश नं २ का मतदाताहरु मतदान गर्न ज्यादै उत्सुक हुनुहुन्छ र निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो अमूल्य मत प्रदान गर्न सबै मतदातासँग हार्दिक अपिल गर्दछु ।”
तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत असोज २ गते आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेम्म मतदान हुँदैछ । उक्त निर्वाचन सम्पन्न गराउन २ हजार १ सय ६६ मतदानस्थलमा ३ हजार ५ सय ७८ मतदान केन्द्र रहनेछन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय जना कर्मचारी परिचालन गरिएको छ ।
उनले लोकतन्त्रको जगलाई गाउँ, शहर र बस्तीबाटै सुदृढ बनाउने कार्यमा निष्पक्ष भई आफ्नो बुद्धि, विवेक र संयमताको भरपूर प्रयोग गर्न सबैलाई आग्रह गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज र आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोगको अपेक्षा गरे ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने-“तेस्रो चरणको निर्वाचनमा दलहरूबीचको सौहार्दता प्रसंशनीय देखिएको छ । यो सौहार्दता मतदान गर्न र विजय र्यालीसम्म पनि कायमै रहने छ भन्नेमा आयोगले आशा एवम् विश्वास लिएको छ ।”
हालै आएको भीषण बाढी, डुबान र कटानले यस क्षेत्रका अधिकांश बासिन्दा कष्टकर जीवन बिताउन बाध्य हुनुपरेको अवस्थामा हुन लागेको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको सेवालाई नै सर्वोपरि राखेर काम गर्ने पनि आयोगले विश्वास व्यक्त गरेको छ ।
मतदाताको सङ्ख्या २६ लाख ६४ हजार ९ सय ५०
प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा विभिन्न पदका लागि सोमबार हुने निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० जना मतदाताले मताधिकारको प्रयोग गर्न सक्नेछन् ।
यस निर्वाचनबाट ६ हजार ६ सय २७ प्रतिनिधि निर्वाचित हुनेछन् भने निर्वाचनको मैदानमा कुल ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस निर्वाचनमा आठ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । नगरप्रमुख तथा अध्यक्षमा १ हजार ७ सय ९ पुरुष र ६१ महिला प्रतिस्पर्धामा छन् ।
उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ पुरुष र ९ सय १९ महिला उम्मेदवार रहेका छन् । वडाध्यक्षमा ८ हजार ५२ पुरुष र २ सय २३ महिला उम्मेदवारहरू निर्वाचनको मैदानमा छन् । जुन मतदान केन्द्रको मतदाता नामावलीमा आफ्नो नाम छ, सोही मतदान केन्द्रमा गई आफूले रोजेका सात जना उम्मेदवारको चिन्हमा गोप्य तवरले मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्न आग्रह गर्दै आयोगले मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्न/नगराउन अपिल पनि गरेको छ ।
अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतलाई निर्देशन दिँदै आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गराउन सुझाव दिएको छ ।
दुईहजार भन्दा बढी पर्यवेक्षक
स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले ४४ ओटा संस्थाका २ हजार १ सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नं २ का जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउन नेपाल सरकार, मित्रराष्ट्रहरू, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको अटुट सहयोग र सद्भावप्रति आयोगले धन्यवाद ज्ञापन गरेको छ ।
मतदानको कार्य सम्पन्न भई मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि राजनीतिक दलहरूसँग समन्वय गरी यथाशक्य छिटो मतगणना सुरू गरी परिणाम सार्वजनिक गर्न आयोगले सबै निर्वाचन अधिकृतलाई निर्देशन पनि दिएको छ ।
विगतका घटनाक्रमलाई समेत ध्यानमा राखी मतगणना कार्यलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतगणनामा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको सहयोगात्मक भूमिका रहनेमा पनि आयोगले विश्वास लिएको छ ।