INSEC Online

📅 २०८३ जेष्ठ २१

झोलुङ्गे पुल पुनर्निर्माण नहुँदा स्थानीयलाई सास्ती, गाउँमा खाद्यान्न सङ्कट

स्वामीकार्तिक खापर गाउँपालिका र गजन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलको पुनर्निर्माण हुन नसकेपछि यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।

२०७९ असार महिनामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावत गर्न नै समस्या भएपछि गाउँमा खाद्यान्न सङ्कट समेत उत्पन्न हुने गरेको स्थानीयहरूको गुनासो छ । स्वामीकार्तिक खापर गाउँपालिकास्थित साप्पाटाको मुक्तिकोट गाउँ सबैभन्दा बढी गरिब गाउँ हो । ४ सय परिवार बजारको खाद्यान्नमा निर्भर रहने यस गाउँमा बजार जाने पुलनै बगाएपछि गाउँमा खाद्यान्न सङ्कट उत्पन्न भइरहेको स्थानीय शिक्षक धनबहादुर धामीले बताउनु भयो ।

दुई वर्ष अगाडि बाढीले बगाएको पुल पुनर्निर्माण हुन नसक्दा स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नम्बर १ र २ साप्पाटा बजारबाट बिच्छेद भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदीको भैसागाडमा रहेको झोलुङ्गे पुल बगाएपपछि साप्पाटाका १ हजार घरपविार बजारको पहुँच भन्दा टाढा रहेको स्थानीय मानबहादुर रोकायाले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

झोलुङ्गे पुल बगाउँदा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १, २ र  जगन्नाथ गाउँपालिका वडा नम्बर ३, ४ र ५ का स्थानीयहरूको आवतजावत नै बन्द भएको छ ।

झोलुङ्गे पुलको पुनर्निर्माण नगरिदा स्थानीयहरू बजारको पहुँचबाट टाढा रहनु परेको र नदीमा पुल नहुँदा ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीहरूको उपचारमा थप समस्या उत्पन्न भएको स्थानीय डबलबहादुर बिकले गुनासो गर्नुभयो ।

झोलुङ्गे पुल हुँदा बेर्मा बजार पुग्न एक घण्टादेखि बढीमा तीन घण्टा लाग्ने गरेकोमा पुल बगाएपछि ६ घण्टा हिँडेर जानु पर्ने बाध्यता रहेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनु भयो । गाउँमा बिरामी पर्दा उपचारका लागि बाहिर लैजान लामो बाटोका कारण धेरै समस्या हुने गरेको अध्यक्ष रोकायाको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘झोलुङ्गे पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट ३ करोड बजेट स्वीकृत भइसकेको छ । पटकपटक मन्त्रालयमा धाइरहेको छु । बेर्मा–बालुवा जोड्ने ३ सय मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि केही दिनमा टेण्डर आह्वान हुने भएको छ ।’

२०७९ असार महिनामा परेको अबिरल वर्षाका कारण आएको बाढीले कर्णाली नदीमा रहेका हुम्ला, मुगु, बाजुरा, कालीकोट, अछाम र दैलेखका दर्जनौँ झोलुगे पुल बगाएको भए पनि पुनर्निर्माण हुन नसकेकाे अवस्था छ ।

अन्य

भिडियो