जिल्ला सदरमुकाम खलङ्गामा खानेपानी अभाव भएको छ । अध्ययनका लागि सदरमुकाम खलंगामै बस्दै आएकी सिंजा गाउँपालिका –६ की नमिता रावत पिउने पानीका लागि दैनिक तीन घण्टा दुरी तय गरी मालालिभिड र खोलीकोट गाउँ धाउन बाध्य भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘पढाइ भन्दा पनि खानेपानी समस्याकाे चिन्ताले पिरोल्दै आएको छ ।’
यस्तै गरी, तिला गाउँपालिका–९ की ललिता बुढाले भन्नुभयो, ‘दैनिक बिहान बेलुका खानेपानीको जोहो गर्न धौधौ परेको छ । लुगा धुन र नुहाउन आफूहरू जुगाडखोला वा तिला नदीसम्मै पुग्नुपर्ने बाध्यता रहेको छ । नदीको पानी निकै फोहोर छ । कपडा धुँदा वा नुहाउँदा छालासम्बन्धी रोग लाग्ने डर पनि छ ।’
घर–घरमा खानेपानीका धारा जडान भएका छन् तर धारामा दुई महिनादेखि पानी झरेको छैन । खलङ्गाबासी खानेपानीका लागि विभिन्न गाउँठाउँ धाउने गरेका छन् । जसका लागि दैनिक घण्टौँको यात्रा तय गर्नुपर्ने हुन्छ ।
खलङ्गामा खानेपानीको मुहान नहुँदा झन्डै १० किलोमिटर टाढाको पातारासी गाउँपालिकाको–६ बडेखोली, ७ नम्बर वडाको रिनी गाउँको छहरेखोला र चन्दननाथ नगरपालिका–६ खलगाडा खोलादेखि खानेपानी ल्याइएको थियो ।
तर खडेरीका कारण मुहानमा पानी सुकेपछि स्थानीयलाई सास्ती भएको हो । मुहान नहुँदा खानेपानीमा अरु स्थानीय तहको भर पर्नुपरेको खलङ्गा खानेपानी उपभोक्ता समितिका सहायक प्राविधिक अर्जुन बरालले बताउनु भयो ।
‘पहिला २०५७ सालमा २ सय धाराको लागि मात्र खानेपानी आयोजना बनाइएको थियो, अहिले १ हजार ७ सय धारा छन्,’ उहाँले भन्नुभयो, ‘बडेखोलीको मुहानमा तीन ओटा पानीको मुहान मिसाइएको छ, तैपनि प्रतिसेकेण्ड दुई लिटर मात्र पानीको गति हुँदा समस्या भयो ।’ उहाँका अनुसार दशक अघिसम्म मुहानमै प्रतिसेकेन्ड ६ लिटर पानी भरिन्थ्यो ।
खानेपानी समस्या हल गर्न अहिले ४ लाख लिटर अटाउने क्षमता भएको पानी ट्याङ्की बनाइएको संस्थाले जनाएको छ । भौगोलिक बनावट र जनसङ्ख्या वृद्धिका कारण खलङ्गामा दिन प्रतिदिन खानेपानीको अभाव हुँदै गएको खलङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पन्नबहादुर रोकायाले बताउनु भयो । उहाँका अनुसार चैतदेखि असार महिनाको पहिलो सातासम्म खलङ्गामा पानी पुर्याउन समस्या भएको हो । यो सुख्खा समयमा हरेक वर्ष उपभोक्ताले खानेपानी उपभोग गर्न पाउँदैनन् ।
खलङ्गा खानेपानी उपभोक्ता समितिले व्यक्तिगत प्रति धारा सय रुपियाँ र संस्थागत ३ सय ५० रुपियाँ महसुल लिने गरेको छ । केही वर्षदेखि जुम्लाको तातोपानी, चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकालाई पुग्ने गरी धौलिगाड वृहत् खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छ । त्यो आयोजना निर्माण भएपछि पर्याप्त खानेपानी पुग्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।
