INSEC Online

📅 २०८३ जेष्ठ २१

धनकुटा बजारमा खानेपानीको समस्या

जिल्ला सदरमुकाममै खानेपानीको समस्या उत्पन्न भएपछि स्थानीय उपभोक्ताहरुले सास्ती खेप्नुपरेको छ ।

धनकुटा नगर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, धनकुटाले खानेपानी वितरण गर्दै आएको भएपनि गर्मी मौसम सुरु भएसँगै मुहानमा पानीको तह घटेपछि र धनकुटा नगरपालिका-२ तांखुवा खोलाबाट ल्याएको पानीको पम्म विग्रिएपछि जिल्ला सदरमुकामका रूपमा रहेको धनकुटा नगरपालिका -४, ५, ६, ७ र ८ मा बसोबास गर्दै आएका स्थानीयहरूले खानेपानीको सास्ती खेप्नु परेको छ ।

जिल्ला सदरमुकाममा खानेपानीको अभावलाई समाधान गर्न २४ करोड रुपियाँ भन्दा बढी लगानीमा धनकुटा नगर खानेपानी उपभोक्ता समितिमार्फत साना शहरी खानेपानी योजना सम्पन्न भएको भए पनि पम्प फुट्ने र गर्मी मौसममा वर्षेनी खानेपानीको अभाव झेल्नुपरेको स्थानीयहरूको गुनासो छ । खलङ्गा खानेपानी उपभोक्ता समितिसँग ३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता भएपनि त्यसको वैकल्पिक व्यवस्था नगर्दा वर्षेनी खानेपानीको समस्या झेल्नुपरेको स्थानीय राजेश्वरबहादुर श्रेष्ठले बताउनु भयो ।

‘धारामा पानी आउँदैन । तीन दिनमा एक पटक केही समयको लागि मात्रै धारामा पानी आउँथ्यो ।’, उहाँले भन्नुभयो, ‘अहिले त बेलाबेलामा पम्प फुटिरहेको समस्या देखाँउँदै खानेपानी नआएको १५ दिन भयो । पानीको अभावमा बालबालिकाहरूको सरसफाई गर्न, लुगाकपडा धुन, खाना पकाउन र शौचालय प्रयोग गर्न सास्ती खेप्नुपरेको छ ।’

धारामा पानी आउन छोडेपछि पानीकै समस्या टार्न नजिकैका खोला, कुवा धाउनु पर्ने बाध्यता भएको स्थानीय मनकुमारी राईले गुनासो गर्नुभयो । ‘तीन दिनमा एक पटक केही समय मात्रै धारामा पानी आउदाँ पानी भर्नकै लागि अनिदो बस्नु पर्ने बाध्यता थियो ।’, उहाँले भन्नुभयो, ‘अहिले त पानी नआएको १५ दिन बढी भयो । गर्मीको समय भएकोले बालबालिकाहरूको सरसफाइमा बढी चासो राख्नु पर्ने हो । तर, पानीको अभावमा बालबालिकाहरूलाई पनि सफासुघर बनाएर विद्यालय पठाउन सकिएको छैन् । धारामा पानी नआए पनि खानेपानी उपभोक्ता समितिले पैसा उठाउन छोडेको छैन् । खानेपानी अभावमा गर्भवती र सुत्केरीहरूले थप समस्या भोग्नुपरेको छ ।’

धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तथा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले उचित व्यवस्थान हुँदाहुँदै समस्या आएको बताउनु भयो । उहाँले अहिले प्राविधिक समस्याको कारणले खानेपानी अभाव भएको बताउनु भयो । उहाँले खानेपानीको पम्प फुटेपछि नयाँ पम्प ल्याएको र त्यो पनि फुटेपछि समस्या भएको बताउनु भयो । उहाँले करिब ३ करोड रुपियाँको लागतमा अर्को पम्प राख्ने तयारी भइरहेको बताउँदै त्यसको लागि एसियाली विकास बैंकले धमाधम सर्वे गरिरहेको जानकारी दिनुभयो । त्यो काम आगामी डिसेम्बरसम्ममा सम्पन्न हुने त्यसपछि सदरमुकाम क्षेत्रका स्थानीयहरूले खानेपानीको समस्या भोग्नु नपर्ने बताउनु भयो ।

हरेक वर्षको चैत महिनादेखि जिल्ला सदरमुकाममा खानेपानीको समस्या उत्पन्न हुने गरेकोले यसको दीर्घकालीन समाधानका लागि पहल भइरहेको उहाँले बताउनु भयो । धनकुटामा खानेपानी समस्या भएपछि अति आवश्यकीय क्षेत्रमा दमकलमा पानी बोकेर वितरण गर्दै आएको नगर प्रमुख तामाङको भनाइ छ । खानेपानीको समस्या भएपछि होटल बन्द गर्ने अवस्था आएको होटल मोरिङ्गाका सञ्चालक दीपक श्रेष्ठले बताउनु भयो ।

बेलायत सरकारको सहयोगमा धनकुटा नगरमा ०३९ सालमा ४ करोड रुपियाँको लगानीमा खानेपानी आयोजना सञ्चालनमा आएको थियो । त्यसपछि ०६० सालमा भारत सरकारको सहयोगमा ०६० सालमा १ करोड ६० लाख रुपियाँको लगानीमा खानेपानी व्यवस्थित गरिएको थियो । त्यसपछि ०७२ सालमा एसियाली विकास बैंकको २४ करोड रुपियाँको लागतमा साना शहरी खानेपानी योजना सम्पन्न गरेर उपभोक्ताको घरमा पानी पुग्ने व्यवस्था गरिएको थियो ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ पिउने पानी तथा सरसफाइमा पहुँचको हक हुने स्पष्ट व्यवस्था गरिएको भए पनि स्थानीयवासीहरू वर्षौदेखि पिउने पानीको समस्या झेल्दै आएका छन् ।

Photo 20240506 Dhankuta (1)
खानेपानीको अभाव भएपछि दमकलले पानी वितरण गर्दै ।

Photo 20240506 Dhankuta (2)

अन्य

भिडियो