जिल्लामा एउटा सडक निर्माण योजनामा काम गर्ने मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् ।
नरहरिनाथ गाउँपालिकाको लालुदेखि पचालझरना गाउँपालिकाको लैफु जोड्ने कृषि सडकमा दैनिक ज्याला मुजदुरी गरिरहेका कामदारहरुले तीन महिनासम्म काम गरेको ज्याला नपाएको गुनासो गरेका हुन । पचालझरना गाउँपालिका–७ र ८ मा पर्ने सडकखण्डमा काम गर्ने १० जना मजदुरले ठेकेदारबाट काम गरेको जनही तीन लाख रुपियाँसम्म ज्याला नपाएको गुनासो छ ।
पचालझरना गाउँपालिका–७ का ३८ वर्षीय नेत्रराज बमले एकै समूहमा काम गर्ने १० जनाले काम गरेबापतको ज्याला नपाएको गुनासो गर्नु भएको छ । साथै वडा नम्बर–८ का ४५ वर्षीय कुस्माखवर सन्ज्यालले पनि सडक निर्माणको जिम्मा लिएका ठेकेदारले आफूले तीन महिना काम गरेको ज्याला नदिएको बताउनु भयो ।
काममा २०७८ साल देखि लगाएर अहिलेसम्म ज्याला गरेको रकम भुक्तानी नगरेपछि पीडितहरुले उक्त रकम माग गर्दै वैशाख १६ गते गाउँपालिकाको न्यायिक समिति र प्रहरी चौकी पचालझरनामा उजुरी दिनु भएको छ । उजुरी दिएको निकायबाट आफ्नो माग सुनुवाइ नभएपछि अब अदालतमा जाने तयारी भइरहेको मजदुर सञ्ज्यालले चेतावनी दिनु भयो ।
यसै गरी , ग्याबिन जाली लगाउने जिम्मा लिएका बसन्तबहादुर शाहीले आफूले सात लाख ५० हजार रुपियाँ ठेकेदारबाट लिन बाँकी रहेको गुनासो गर्नु भयो ।
यता सडक निमार्ण जिम्मा पाएको गणेश निर्माण सेवाका सञ्चालक गणेशबहादुर शाहीलाई सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन ।