बारबर्दिया नगरपालिका-११ स्थित मानपुरमा सिकलसेल रोगको उपचारका लागि निर्माण गरिएको अस्पतालको भवन अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ । बारबर्दिया नगरपालिकामा रहेको नगर अस्पतालको भवन उचित रेखदेख, संरक्षण र मर्मत सम्भारको अभावमा अलपत्र परेको हो ।
सिकलसेल रोगको उपचारका लागि अस्पताल सञ्चालन गर्ने भनेर स्थानीय तहले सो भवन निर्माण गरेको थियो । एक वर्ष अघि निर्माण सम्पन्न भएर भवन हस्तान्तरण भए पनि स्थानीय तहले चासो नदिँदा भवन अलपत्र परेको स्थानीयको भनाई छ । ठूलो लगानीमा बनेको संरचना अलपत्र परेको देख्दा स्थानीय निराश देखिन्छन् ।
४ करोड २० लाख रुपियाँ लागतमा बनेको भवनको उचित रेखदेख र संरक्षण नहुँदा भवनका झ्याल, ढोका र बिजुलीको सुइचहरू तोडफोड भएका छन् भने रंगरोगन खुइलिएको छ । बारबर्दिया नगरपालिका-१० का स्थानीय सुनिल थारुले आफ्नो नगरपालिकाले सिकलसेल अस्पताल बनाउँदै छ भन्ने सुन्दा सुरुमा खुसी लागेको भए पनि अहिलेसम्म उपचार सेवा त परै जाओस् भवनको संरक्षण नभएको देख्दा दुःख लागेको बताउनु भयो । उहाँले छिटो उपचार सेवा सुरु भएमा आफू जस्तै सिकलसेलका बिरामीलाई सजिलो हुने बताउनु भयो ।
बारबर्दिया नगरपालिका-६, मिलनटोलका स्थानीय डोगाली थारुले सिकलसेल अस्पतालको भवन निर्माण भए पनि अस्पतालबाट डाक्टर नहुँदा बिरामीहरू रोगको उपचार गर्न बाहिर जानुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भवन निर्माण भए पनि के कति कारण अस्पताल सञ्चालन हुन नसकेको यस बारेमा अनभिज्ञ रहेको उल्लेख गर्नुभयो ।
बारबर्दिया नगरपालिका-४ का स्थानीय ६९ वर्षीय बडघर खुसीराम थारुले बारबर्दिया नगरपालिकामा सिकलसेल अस्पताल रहे पनि नेपालगञ्जमा उपचार गर्न जानुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भवन निर्माण भएको लामो समय भए पनि चिकित्सक, लगायतको अन्य व्यवस्थापन हुन नसक्दा सेवा सुचारु हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बारबर्दिया नगरपपालिकामा सिकलसेलको अस्पताल लागि भवन हुँदाहुँदै पनि नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको छ । यसको अन्त्य गर्न बारर्दिया नगरपालिकाले पहल गर्नु पर्छ, छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्नुपर्छ ।’
स्थानीय सरकारले अस्पताल सञ्चालन गर्नका लागि चिकित्सक, औषधि मेसिन लगायत अन्य उपकरणको व्यवस्थापन गरेर सिकलसेल अस्पताल सञ्चालन गर्नुपर्ने बारबर्दिया नगरपालिका-४ का स्थानीय निरजन चौधरी बताउनुहुन्छ । उहाँले बारबर्दिया नगरपालिकाबाट नेपालगञ्ज, कोहलपुर, गुलरिया जान त्यति सहज नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बिरामी नेपालगञ्ज गएर उपचार गर्दा आर्थिक भार हुने गर्छ भने गुलरियासम्म जाने बाटोमा पुल नहुँदा पनि समस्या हुने गरेको छ ।’
बारबर्दिया नगरपालिकाका निवर्तमान नगर प्रमुख दुर्गाबहादुर थारुले सिकलसेल रोगको उपचार केन्द्र (अस्पताल) बनाउनका लागि भवन निर्माण गरिएको भए पनि अहिले स्थानीय तहले थप बजेट नछुट्याउँदा अस्पताल सञ्चालन हुन नसकेको बताउनु भयो । उहाँले आफू नगर प्रमुख हुँदा सिकलसेल अस्पताल बनाउने उद्देश्यले भवन निर्माण गरेकोले यसको सञ्चालनको लागि सङ्घ र प्रदेशसँग निरन्तर समन्वय गरिरहेको बताउनु भयो ।
बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल थारुले सिकलसेल अस्पताल सञ्चालन गर्नका लागि प्रदेश सरकारसँग ३० लाख रुपियाँको सम्झौता भएको जानकारी दिनुभयो । उहाँले खरिद प्रकृया अगाडि बढेको र छिट्टै नै सिकलसेलको उपचार सेवा हुने बताउनु भयो ।
अतः नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार किटान गरिएको छ । तर बारबर्दिया नगरपालिका स्थित मानपुरमा सिकलसेल रोगको उपचारका लागि निर्माण गरिएको अस्पतालको भवन अलपत्र हुँदा अधिकांश सेवाग्राहीहरू स्वास्थ्य सेवाको अधिकारबाट वञ्चित हुनु परेको छ ।
