INSEC Online

📅 २०८३ जेष्ठ २१

मानसिक रोगका कारण बर्दियामा आत्महत्या बढ्दै

मानसिक रोग पनि अन्य रोग जस्तै उपचार गरे ठिक हुन्छ भन्ने थाहा नपाउँदा बर्दियामा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । नेपाल प्रहरीको पाँच वर्षको तथ्याङ्क हेर्दा औषधमा दैनिक १८ जनाले आत्महत्या गरेको पाइन्छ । आत्महत्याका घटना मध्ये ९० प्रतिशत घटना मानसिक स्वास्थ्यको उपचारको अभावमा हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

चालु आर्थिक वर्ष ०८०/८१ चैतसम्म ९३ जनाले, आर्थिक वर्ष ०७९/८० मा १ सय २१ जनाले, आर्थिक वर्ष ०७८/७९ मा १ सय ६१ जनाले, आर्थिक वर्ष ०७७/७८ मा १ सय ५० जनाले, आर्थिक वर्ष ०७६/७७ मा १ सय ४३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रवीण धितालले जानकारी दिनुभयो । एसपी धितालले प्रहरीको अनुसन्धान अनुसार असफलता, तनाव, आवेग, गरिबी लगायत कारणले धेरैले आत्महत्या गर्ने गरेको बताउनु भयो ।

उहाँले सामान्यतया घरेलु हिंसा, प्रेम सम्बन्ध, अतिरिक्त प्रेम सम्बन्ध, बलात्कार, अनिच्छित गर्भधारण, पारिवारिक बेमेल, पति या पत्नीले अर्को विवाह गर्दा, पर्याप्त दाइजो नल्याएको निहुँमा पाउने मानसिक यातना, पढाईमा असफलता, अत्यधिक ऋण, मानसिक विचलनका कारण आत्महत्या हुने गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयको चालु आर्थिक वर्ष ०८०/८१ को चैतसम्म ९३ जनामध्ये ४३ जना महिला र ५० जना पुरुषले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा २०७९/८० मा एक सय २१ जना मध्ये ४६ जन महिला र ७५ जना पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालयको दुई वर्षको तथ्याङ्क हेर्दा पनि महिलाभन्दा बढी पुरुषले आत्म हत्या गरेको पाइन्छ ।

मानसिक रोग विशेषज्ञ डा. विक्रम काफ्लेले ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारण हुने गरेको बताउनु भयो । उहाँले आत्महत्या मध्ये पनि सबैभन्दा बढी डिप्रेशन, सिजोफ्रेनिया , बाइबोलर डिसअर्डर, लागुऔषधको प्रयोग, मादक पदार्थको सेवन आत्महत्या कारण हुने गरेको जानकारी दिनुभयो । मानसिक रोग विशेषज्ञ डाक्टर काफ्लेले आत्महत्याको कारण मानसिक स्वास्थ्य भएकोले अन्य रोग जस्तै मानसिक रोगको उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिने बताउनु भयो ।

क्लिनिकल मनोविद् डा. विजय ज्ञवालीले भन्नुहुन्छ, ‘आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छासँगै खुसी भएर बाँच्ने इच्छा समेत गाँसिएको हुन्छ । आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नपूर्व कसैको सहयोग अपेक्षा गरिरहेका हुन्छन् । कसैले उनीहरूका कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन् । उनीहरूको यो इच्छालाई बुझ्न सकियो र बचाउन सकियो भने जीवन रक्षा हुन्छ । मानसिक समस्या भएको कतिपय मानिसले आफै समस्याको समाधान खोजेका हुन्छन् ।’

आत्महत्याको रोकथाम अहिले नेपालको प्रमुख समस्या भएको डा. ज्ञवाली भन्नुहुन्छ । आत्महत्या मानसिक स्वास्थ्यसँग सम्बन्धी भ्रम र जनचेतनासँग जोडिएको विषय भएको उहाँले उल्लेख गर्नुभयो । मानसिक रोगको उपचारमा पहुँचको कमी, रोगको बारेमा जनमानसमा थुप्रै मिथ्याहरू, रोगको पहिचान र उपचारको लागि पर्याप्त पहुँचको अभावका कारण भएको डा. ज्ञवालीले बताउनु भयो । उहाँले मानसिक समस्याको उपचारको पहलको सट्टामा आफूमा मानसिक समस्या भएको कुरालाई अभिव्यक्त गर्न नसक्नु, मानसिक रोगी प्रति हेरिने नकारात्मक दृष्टिकोण हुनुको कारण भएको बताउनु भयो ।

अन्य

भिडियो