INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रमुख निर्वाचन आयुक्तले मतदान गर्ने स्थल नै डुबानमा

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदान गर्ने राजविराज नपा-२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, राजदेवीको मतदान स्थल निर्वाचनको दुई दिन बाँकी रहँदासम्म डुबानमा छ ।

Photo20170916Saptari2

दुई तहको स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वव गरेका प्रमुख निर्वाचन आयुक्त डा. यादवको मतदाता क्रम सङ्ख्या ५७८ रहेको छ । तीन ओटा मतदान केन्द्र रहेको सो मतदान स्थलबाट २ हजार १ सय ७६ जना मतदाताले मदतान गर्ने मतदान अधिकृत दामोदर यादवले जानकारी दिए ।

Photo20170916Saptari3

मतदान स्थल बनाइएको यो विद्यालयको प्राङ्गणमा रहेको पानी राजविराज नगरपालिका कार्यालयले भदौ ३० गते दिनभर पम्पिङ् सेटबाट बाहिर फ्याँके पनि अझै पानी र चौर हिलाम्मे छ । गत साउन २७ गते आएको बाढीपछि यस क्षेत्रका बाढी पीडितहरूले एक हप्तासम्म यसै विद्यालयमा आश्रय लिएका थिए ।

प्रमुख निर्वाचन आयुक्तले मतदान गर्ने मतदानस्थलको झैँ सप्तरीको १८ स्थानमा रहेको मतदान स्थलको अवस्था दयनीय रहेको जियोकका पर्यवेक्षक कृपानारायण यादवले बताए । यादवका अनुसार कञ्चनरूप नपा-३ स्थित पोखरी चौरमा, छिन्नमस्ता गापा-२ ग्रामदेवता स्थान, रूपनी गापा-२ को राजाजी स्थान पिप्राही, डाक्नेश्वरी नपास्थित पोखरी, हनुमाननगर कङ्कालिनी नपा-११ स्थित मस्जिद फुलबारीलगायतका स्थानमा खुला चौरमा मतदान केन्द्र रहेकाले सुरक्षा अवस्थालगायत मतदाताहरू आउने र मतदान गर्ने अवस्था अत्यन्त कमजोर देखिएको छ ।

Photo20170916Saptari4

नेपाली सेनाको टोलीले बाढीले भत्काएको अधिकांश सडक अस्थायी रूपमा मर्मत गरेपनि अझै कतिपय भत्किएका पुल र कटान भएका बाटोहरू निर्माण र मर्मत नहुँदा मतदाताहरूलाई मतदान केन्द्रसम्म पुग्न निकै कठिन छ । खडग नगरपालिकाको मतदान केन्द्रसहित राजविराजबाट पकरी, डिमन, लोहजरा हुँदै मैनाकडेरी जाने बाटोहरूको अवस्था दयनीय रहेको छ ।

सप्तरी जिल्लामा रहेका २ सय ९५ मतदान स्थलका ४ सय ६२ मतदान केन्द्रमध्ये २ सय ७ मतदान स्थलको ३ सय २४ मतदान केन्द्र अति सम्वेदनशील र ८८ मतदान स्थलको १ सय ३८ मतदान केन्द्र सम्वेदनशील रहेको सप्तरी जिल्लाको कुनै पनि मतदान केन्द्र सामान्य नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अन्य

भिडियो