INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनको विविध पक्षबारे निर्वाचन आयोग र मानव अधिकार आयोगबिच छलफल

असोज २ गते हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचन सञ्चालन तथा प्रचारप्रसारका क्रममा मानव अधिकारको उल्लङ्घन हुन नदिनका लागि निर्वाचन आयोगले गरेको प्रयास तथा निर्वाचनमा मतदाता, उम्मेदवार तथा निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा लगायतका विषयमा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र निर्वाचन आयोग बिच छलफल भएको छ ।

भदौ ३० गते निर्वाचन आयोगको कार्यालयमा निर्वाचन आयुक्तद्वय इला शर्मा र इश्वरीप्रसाद पौड्यालसँग मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी बिच छलफल भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य अन्सारीले निर्वाचनको क्रममा बालबालिकाको प्रयोग रोक्नका लागि निर्वाचन आयोगले गरेको प्रयास स्मरण गर्दै सरकारी वा गैरसरकारी सङ्घसङ्गठनहरू मानव अधिकारको रक्षाको लागि कार्य गर्न प्रतिबद्ध रहनु पर्ने आवश्यकता रहेको बताइन् ।

भेटघाटमा आयोगकी सदस्य इला शर्माले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सञ्चालन गर्नका लागि निर्वाचन आयोगले लागू गरेको आचारसंहिता सबै क्षेत्रबाट पालना हुनुपर्ने र यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिका महत्वपूर्ण रहने बताइन् ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबिच भएको समझदारी अनुसार मानव अधिकार आयोगबाट निर्वाचनमा मानव अधिकारको सम्मान गर्ने सम्बन्धमा भएका प्रयासले निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सञ्चालन गर्न मद्दत पुर्‍याएको बताए ।

अन्य

भिडियो