INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रष्ट उम्मेदवार र सचेत मतदाता भए निर्वाचन सफलः प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ ३० गते राजविराजमा नागरिकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा अभियानका सहअध्यक्ष एवम् इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले प्रष्ट उम्मेदवार र सचेत मतदाता भए मात्र निर्वाचन सफल हुने बताए । ‘हिजोसम्म जुन पार्टीलाई गाली गथ्र्यो । ताल परे कुट्थ्यो । रातारात त्यही पार्टीबाट उम्मेदवार बनेको छ ।’-उनले भने-‘यसरी उम्मेदवारहरू नै प्रष्ट छैन भने मतदाता त झन् सर्वसाधारणको अवस्था के होला ?’

सुरुवातको बेला भएकोले राम्रो, सफासँग निर्वाचन सम्पन्न गराउन स्थानीय तहबाट नै क्रियाशीलता र अगुवाइ हुनुपर्ने बताउँदै प्याकुरेलले एकआपसमा समन्वय गरेर मानव अधिकार आयोग, निर्वाचन आयोगलाई ढक्ढकाउनु पर्ने बताए । उम्मेदवारले भनेजस्तो आजको भोलि नै स्मार्ट सिटी बन्ने पनि होइन भन्दै उनले लोकतन्त्रमा आस्था राख्नेहरूले विधिको शासन र धैर्यता पालना गर्नुपर्नेमा जोड दिए ।

अभियानका अर्का सहअध्यक्ष एवम् नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले आचारसंहिता बनाउने नेताहरूले नै उल्लङ्घन गरिरहेको भन्दै पालना नगर्ने नियम बनाउनै नहुने विचार राखे । उनले भने-‘पालना गर्न नसक्ने भए कानुन बनाउन हुँदैन थियो, कानुन बनाएपछि पालना गर्नुपर्छ । आचारसंहीता भनेको कतै नलेखिए पनि नैतिक रूपमा बेठिक लागेको कुराहरू पनि हुन्’-उनले थपे ।

अर्यालले राजनीतिक दलका नेताहरू नै बढी समाजसेवी र मानव अधिकारकर्मी हुन् भन्दै उनले शासनकर्ताले भ्रष्टाचार नगर्न, सुशासन कायम गर्न, कानुन र आचारसंहिता पालना गर्न जानेको छैन भन्न नमिल्ने बताए । उम्मेदवार र नेताहरूले कानुन जानेको छैन भन्न नपाउने र नजान्नेलाई मतदाताले चुन्न पनि नहुने उनको भनाई छ ।

वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले प्रधानमन्त्री र निर्वाचन आयोगले नै आचारसंहिता उल्लङ्घन गरेर ‘अपराध’ गरेको आरोप लगाए । सरकार बचाउन र आयल निगमको भ्रष्टाचारीलाई जोगाउन आचारसंहिता विपरीत मन्त्रीपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्ने भन्दै मण्डलले भने-‘अन्यथा आयोगलाई सोधेर मन्त्रीपरिषद विस्तार गरिएको भए आयोग नै कारबाहीको भागिदार बन्नुपर्छ ।’-उनले भने ।

गाउँपालिकाको चुनावमा पाँच करोडसम्म खर्च गरेको भन्ने प्रचण्डसँग निर्वाचन आयोगले प्रमाण माग्नु पर्ने भन्दै मण्डलले देश चलाउने ठूला नेताहरूले नै आचारसंहिता पालना नगरेपछि जिल्लाका कार्यकर्ताहरूबाट आशा गर्न नमिल्ने बताए ।

अन्तरक्रियामा सहभागी वक्ताहरूले जिल्लामा अपायक स्थानमा मतदान केन्द्र भएको, निर्वाचन आचारसंहिता विपरीत बालबालिका, लाउडस्पिकर, डिजे, मोटरसाइकल र्‍याली, पोष्टर, झण्डा, व्यानरको प्रयोग भएको, धम्की दिएर मनोनयन फिर्ता गराइएको आरोप लगाए ।

वक्ताहरूले पहिलेको तुलनामा आचारसंहिता पालना गर्ने प्रवृति बढदै आएपनि राजनीतिक दलहरूले पैसा खर्च गर्न सक्ने र जातीय सङ्ख्याका आधारमा उम्मेदवारी दिन थालेपछि भोज भतेर र पैसा बाँडने चलन बढेको आरोप लगाए ।

अन्य

भिडियो