INSEC Online

📅 २०८३ जेष्ठ २१

हाटबासका आगलागी पीडितलाई पानीको समस्या

राजपुर गाउँपालिका-७, हाटबासका आगलागी पीडितलाई खानेपानीको समस्या भएको छ । वैशाख १६ गते जङ्गलबाट सल्किएको आगोले हाटवासका २३ घर जलेपछि घरबारविहीन भएका उनीहरुलाई अहिले खानेपानीको समस्या भएको हो ।

हाटबास नजिकै रहेको सानो खानेपानीको मुहानबाट ल्याइएको सात ओटा धाराको पाइप आगलागीले जलेपछि पुरै वस्तीमा तीनदिन देखि खानेपानी आउन छोडेको अग्निपीडित खिमलाल खत्रीले बताउनुभयो । ‘घरसँगै पानीका पाइप पनि जले, धारा पनि जलेका छन् । पाइपको व्यवस्था गरिदिए यो खडेरीमा पानी त खान पाउने थियौँ’, खत्रीले भन्नुभयो । हाटवासमा २३ घरधुरी छन् । २३ घर धुरीका १ सय जनसङ्ख्यालाई सात ओटा धारा वितरण गरिएको थियो । ती सबै धाराका पाइप जलेर नष्ट भएका छन् । धाराको पानी रोकिएपछि आगलागी पीडितहरूले खोल्साको पानीले काम चलाइरहेको राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले जानकारी दिनुभयो । उहाँले तत्काल पाइप विस्तार गर्न र स्वच्छ पानीको व्यवस्था गर्न सबै सरोकारवालाहरूसँग अपील गरिएको बताउनु भयो ।

आगलागी पीडितलाई खानेपानीको समस्या भएपछि विभिन्न सङ्घसंस्थाहरूले खानका लागि मिनरल वाटरका बोतल वितरण गरेका छन् । तर बोतलको पानीले दिगोरूपमा समाधान हुन नसक्ने भन्दै तत्काल पाइपको व्यवस्थापन गर्न पहल भइरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनु भयो । खानेपानी मात्रै होइन २३ घरका २० भान्सा तथा गोठ समेत जलेर क्षति व्यहोरेका आगलागी पीडितहरू खुल्ला आकाशमुनि बास बस्न बाध्य छन् । जिल्ला विपत् व्यवस्थापन समिति, रेडक्रस, उद्योग वाणिज्य सङ्घलगायतका सामाजिक सङ्घसंस्थाहरूले त्रिपाल, चामल, दाल र सामान्य बन्दोबस्तीका सामग्री वितरण गरे पनि उनीहरूको पुनस्थापना भने हुन सकेको छैन ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले पहिलो चरणमा आधारभूत राहत पुर्‍याउने काम भइरहेको उल्लेख गर्दै त्यसपछि पुनस्थापनाका लागि सरकारसँग पहल गर्ने बताउनु भयो ।

Photo02052024Dang

अन्य

भिडियो