बाणगङ्गा नगरपालिका-८, ढोडेकोलकी ५५ वर्षीया जुठी भुसालको हत्या गरी ६० वर्षीय पति टेकलाल भुसालले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बाणगङ्गा नगरपालिका-८, ढोडेकोलमा आफ्नै घरमा बस्दै आएका टेकलालले घरायसी विवादका क्रममा पत्नीलाई ०८१ वैशाख १९ गते बिहान छुरा प्रहार गरी विभत्स हत्या गरेको र सो पश्चात आफूले पासो लगाएर आत्महत्या गरेको घटनाको प्रकृतिले देखाएको जिल्ला प्रहरी कार्यालयका एसपी नवरत्न पौडेलले जानकारी दिनुभयो ।
पत्नीलाई हत्या गरेपछि पति घर भित्रै पासो लगाएर भुण्डिएको अवस्थामा रहेको एसपी पौडेलले बताउनु भयो । घटनाको प्रकृति हेर्दा पति पत्नीबिच झगडा भएको कारण पत्नीको हत्या गरी पतिले पनि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको एसपी पौडेलले उल्लेख गर्नुभयो । घटनाका विषयमा स्थानीयले इलाका प्रहरी कार्यालय, पिपरालाई खबर दिएका थिए । शवको पोष्टमार्टम वैशाख १९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो । पीडित परिवारले सोही दिन शव बुझी सदगत् गरे ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी पौडेलले बताउनु भयो । मृतकका तीन जना छोराहरू छन् । दुई जना छोरा काठमाडौँमा बस्दै आएका छन् भने एक जना छोरा वैदेशिक रोजगारको लागि दुवैमा छन् ।