INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा बर्दिवास नपा स्थित कङ्क्रिट उद्योगमा आगजनी

अज्ञात समूहले बर्दिवास नपा-२ स्थित एक कङ्क्रिट उद्योगमा भदौ २८ गते राति आगजनी गरेको छ ।

मध्यराततिर आएको अज्ञात समूहले बर्दिवास नगरपालिका-२ हङकङ डाँडामा सञ्चालित सोनामाई कङ्क्रिट उद्योगको भ्याकुम लोडरमा आगजनी गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

उद्योग सञ्चालक प्रदीप खड्काका अनुसार आगजनीबाट ६० लाख रूपियाँभन्दा बढि मूल्यको क्षति पुगेको जनाइएको छ ।

यसअघि पनि बर्दिवास नपाको कार्यालय अगाडि बम विष्फोट र गौशाला नपामा सिलिण्डर विष्फोट गराइएको थियो ।

उद्योगमा कार्यरत १० जना कामदार क्रसर परिसरकै क्वाटरमा आराम गर्न गएको मौका पारी उत्तः समूहले पेट्रोल छर्केर आगो लगाएको उद्योगका स्टाफ दामोदर भण्डारीले जनाए । कामदारले आगो दन्किएपछि मात्र थाहा पाएको उनले बताए । डिजल ट्याङ्कीमा नै आगो सल्किएकोले उनीहरूले निकै प्रयास गर्दा पनि आगो नियन्त्रणमा लिन नसकिएको बताए । उद्योगका म्यानेजर रामकुमार भुजेलका अनुसार ट्याङ्कीमा १ सय ३० लिटर जति डिजेल रहेको थियो ।

घटनालगत्तै पुगेको प्रहरीको प्रयासले समेत आगो नियन्त्रण हुन सकेन र पूर्ण क्षति भएको भुजेलले बताए । आगलागी नियन्त्रण हुन नसकदा २ महिनाअघि मात्र खरिद गरिएको २ घनमिटर क्षमताको भ्याकुम लोडरलगायतका सामान जलेर नष्ट भएका छन् ।

बर्दिवासमा हाल ८ क्रसर सञ्चालनममा छन् । स्थानीय तह निर्वाचनको घोषणा भएसँगै केही समूहले ५ देखि १० लाखसम्म रकम किटेर चन्दा माग गर्दै आएको र मागे बमोजिम दिन असमर्थता जनाएपछि कारबाही स्वरूप आगजनी गरिएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी प्रवीण पोखरेलले घटनास्थलबाट बरामद प्रमाणका आधारमा आगजनीमा संलग्नको खोजतलास सुरू गरिएको जानकारी दिए । पोखरेलका अनुसार बरामद प्रमाणले घटना अनुसन्धानमा सहयोग पुगेको छ ।

अघिल्ला निर्वाचनका बेलासमेत उक्त क्रसरमा पटकपटक विष्फोटलगायत भौतिक सामानमा क्षति पु‍र्‍याइएकाले यसको पनि सघन अनुसन्धान थालिएको डिएसपी पौडेलले जनाए ।

अन्य

भिडियो