मंगला गाउँपालिका–१ कुहुँको पात्लेपानी सामुदायिक वन हुँदै सडक निर्माण गर्न नपाउँदा कुहुँका स्थानीय वासिन्दाले मंगला गाउँपालिका– १ अँधेरी खोलामा सडकमा रूख ढाल्नुका साथै पर्खाल लगाएर वैशाख १५ गते देखि अवरोध गरेका छन् ।
मंगला गाउँपालिका– १ कुहुँ र पूर्णगाउँ जोड्ने सडक खण्डको अँधेरीखोला स्थित सडकमै पर्खाल लगाउँदा बाटो अवरुद्ध भएपछि यातायातका साधन प्रभावित भएको छ । बेनी–सिमलचौर–टोड्के सडक अन्तरगत पर्ने उक्त स्थानमा सडक खुलाउन नसकिएको स्थानीयको भनाई छ । वन क्षेत्र भित्र जथाभावी सडक निर्माण गर्न लागेको भन्दै पात्लेपानी सामुदायिक वनले डिभिजन वन कार्यालयमा निवेदन दिएपछि वन कार्यालयले सडक निर्माण रोक्न निर्देशन दिएको थियो । वनले सडक नवनाउन निर्देशन दिएपछि आक्रोशित स्थानीयले सडकमा पर्खाल लगाएको मंगला गाउँपालिका–१ का अध्यक्ष एकजित रोकाले बताउनुभयो ।
डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले सामुदायिक वनले सडक विस्तार गर्दा वन क्षति हुने भन्दै निवेदन दिए पछि विस्तार रोक्न निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘सडकै नभए एउटा कुरा, सडक भै रहेको अवस्थामा वनै भरी सडक बनाउँदा वन नासिन्छ भनेर हामीले रोक्न निर्देशन दिएका हौं ।’ ‘वनै सखाप पारेर सडक निर्माण गर्न खोज्ने अनि वन मास्न पाइएन भनेर सडकमा पर्खाल लगाएर अवरोध गर्न त भएननी’ अधिकारी भन्नुहुन्छ । सामुदायिक वन भित्रबाटै सडक हुँदाहुँदै अर्को सडक बनाएर वन मास्नु राम्रो होइन त्यसैले हामीले वन भित्र सडक निर्माण नगर्नका लागि निर्देशन दिएका हौं–उहाँले भन्नुभयो ।
कुहुँकी स्थानीय वासिन्दा एवम् जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्रीले सडकमा पर्खाल लगाएर बन्द गरेको भन्ने आफूले पनि सुनेको बताउनुभयो । उहाँले भन्नुभयो–‘कुहुँ हुदै सडक टोड्के लैजानका लागि पूर्णगाउँका वासिन्दाको बिमती हो त्यसैले उहाँहरुले वन कार्यालयमा निवेदन दिएपछि वनले सडक विस्तार रोक्दा कुहुँका वासिन्दाले सडक अवरोध गर्नुभएको हो ।’
मंगला गाउँपालिका– १ का अर्का स्थानीय वासिन्दा जितमान गौचनले कुहुँ–पूर्णगाउँ हुँदै टोड्को जाने सडक हुँदाहुँदै सामुदायिक वन मासेर अर्को सडक बनाउन नहुने भन्दा भन्दै कुहुँका स्थानीयले जबरजस्ती सडक विस्तार गर्न खोजेको र सामुदायिक वन जोगाउनु पर्छ भन्दा आवतजावत गर्ने सडकमै कुहुँका स्थानीयले पर्खाल लगाएको बताउनुभयो । भै रहेको सडकलाई नै स्तरोन्नती गर्दा वन पनि जोगिने र सडक पनि राम्रो हुने विकल्प हुँदाहुदै अर्को सडक निर्माण गरि रहन पर्ने अवस्था नरहेको गौचनको भनाई छ । सडक निर्माण रोक्न वन कार्यालयले निर्देशन दिएको हो हामीले हैन तर हामीलाई दुःख दिन सडक बन्द गर्न हुने थिएन ।
पर्यटकीय स्थल टोड्के देखि पूर्णगाउँ–कुहुँ हुदै बेनी सम्म पुग्ने सडकमा कुहुँका वासिन्दाले अवरोध गर्दा टोड्के पुग्ने पर्यटकहरु झिँ तथा पूर्णगाउँ हुँदै अन्य वैकल्पिक मार्ग प्रयोग गरेर बेनी फर्किन थालेका छन् । सडक निर्माण थालनी पहिल्यै भएको र पटकपटक विवाद हुने गरेकोमा अहिले पनि पुनः विवाद बढेपछि सडक अवरुद्ध पारेको मंगला गाउँपालिका– १ का अध्यक्ष रोकाले जानकारी दिनुभयो । सडक विस्तारका लागि समन्वय गर्ने प्रयास गरिएको भए पनि समन्वय हुन नसके पछि कुहुँका वासिन्दाले सडकमा पर्खाल लगाएको उहाँको भनाई छ ।
सडक खण्डमा पर्खाल र रुख ढालेर अवरोध गरे पछि कुहुँ र पूर्णगाउँबाट सदरमुकाम बेनी तथा गाउँपालिकाको केन्द्र बावियाचौर जाने यातायातका साधन समेत प्रभावित भएको अध्यक्ष रोकाले बताउनुभयो ।
कुहुँ–भिरकटेरा हुदै टोड्के जोड्ने सडक खण्ड विस्तारको विषयमा कुहुँ र पूर्णगाउँ बिच विवाद रहेको छ । कुहुँ हुदै रघुगंगा गाउँपालिका–५, झिँ मा आवतजावत गर्न भिरकटेरा हुदै छोटो मार्ग पर्ने कहुँका बासिन्दाको भनाई छ । पूर्णगाउँको सामुदायिक वन समूहले सडक हुदाँहुदै अर्को वैकल्पिक सडकले पहिरोको जोखिम बढ्नुका साथै सामुदायिक वन अनावश्यक मासिने भन्दै डिभिजन वन कार्यालय म्याग्दीमा निवेदन दिएपछि थप सडक विस्तार रोकिएको पूर्णगाउँका युवा सूर्य तिवारीको भनाई छ ।

