इलाम निर्वाचन क्षेत्र न २ मा वैशाख १५ अर्थात आज हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इन्सेकले पर्यवेक्षण गर्दैछ ।आज अर्थात ०८१ वैशाख १५ गते विहान ७ बजेदेखि सुरुआत हुने उपनिर्वाचनको इन्सेकले पर्यवेक्षण गर्दैछ । इन्सेकले कोशी प्रदेशको इलाम र सूदुरपश्चिम प्रदेशको बझाङ्गमा हुने उपनिर्वाचनको पर्यवेक्षण गर्दैछ ।
इलाम निर्वाचन क्षेत्र न २ मा इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेल, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, कोशी प्रदेश प्रमुख सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी, इलाम प्रतिनिधि मनोज अधिकारी र जिल्लामा ६ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने प्रदेश प्रमुख थापाले बताउनु भयो ।
इन्सेकले नेपालमा ०४७ सालमा ग्रामीण मतदाता सचेतन कार्यक्रम सञ्चालन गरी ०४८ सालदेखि निर्वाचन पर्यवेक्षण गर्दै आएको छ । इन्सेकले ०४७ सालयता भएका निर्वाचनको निरन्तर पर्यवेक्षण गर्दै आएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले “निर्वाचन पर्यवेक्षण कार्यविधि, २०७९” जारी गरेको छ ।
नेपालको संविधान र निर्वाचन सम्बन्धी सङ्गघीय कानून बमोजिम निर्वाचन आयोगले सञ्चालन गर्ने निर्वाचनको समग्र व्यवस्थापन र निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न निर्वाचन पर्यवेक्षण कार्यविधि जारी गरी सरकारले निर्वाचन पर्यवेक्षण गर्ने व्यवस्था मिलाई निर्वाचन पर्यवेक्षण गर्दै आएको छ ।
आयोगले जारी गरेको कार्यविधिमा पर्यवेक्षण भन्नाले निर्वाचनको समयमा स्वतन्त्र राष्ट्रिय वा अन्तर्राष्ट्रिय पर्यवेक्षकमार्फत गराइने अनुगमन र सुपरिवेक्षण गर्ने कार्यलाई सम्झनु पर्छ भनि परिभाषित गरेको छ ।पर्यवेक्षकहरुले निर्वाचनसँग सरोकार राख्ने पक्षसँग संवाद गर्न पाउने निर्देशिकामा व्यवस्था छ । उनीहरुले मतदाताको आवत जावत, निर्वाचन सामग्रीहरूको ओसार–प्रसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणामसमेतका विषयमा पर्यवेक्षण गर्ने जिम्मेवारी तोकिएको छ ।
नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् १९६६ लाई विस ०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।
सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ ।
नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ । निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।
इलाम निर्वाचन क्षेत्र न.२ मा गएको निर्वाचनमा भन्दा आज हुने निर्वाचनका लागि ५ सय ४७ जना मतदाता थप भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ०८१ वैशाख १४ गतेसम्ममा १८ वर्ष उमेर पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि इलाम निर्वाचन क्षेत्र न.२ मा मतदाताको सङ्ख्या १ लाख १८ हजार ८ सय ८९ छ ।५९ हजार १८ जना पुरूष र ५६ हजार ८ सय ६९ जना महिला गरी कूल मतदाताको सङ्ख्या १ लाख १८ हजार ८ सय ८९ जना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ
इलाम निर्वाचन क्षेत्र न.२ मा पाँच ओटा स्थानीय तहका ४२ ओटा वडा पर्छन् । इलाम नगरपालिकाका १२ ओटा वडामध्ये १० ओटा बाहेक सबै निर्वाचन क्षेत्र न.२ मा पर्छन् । यी वडाको कुल मतदाता सङ्ख्या ३४ हजार ४५ जना छ ।
देउमाई नगरपालिकामा २६ हजार ३ सय ६५ जना, चुलाचुली गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक दुई जनासहित १८ हजार ५ सय ४५ जना, फाकफोकथुममा १६ हजार ३ सय दुई जना, माङ्सेबुङमा १२ हजार ५ सय ३६ जना र माई नगरका वडा ६, ७, ८ मा ८ हजार ९६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ०७९ सालको निर्वाचनमा इलाम निर्वाचन क्षेत्र न.२ मा १ लाख १५ हजार ३ सय ४२ जना मतदाता थिए ।
इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते निर्वाचनका लागि ७९ ओटा मतदानस्थलमा १ सय ४९ ओटा मतदान केन्द्र तोकिएको छ ।