पर्वत सदरमुकाम कुश्मा बजारसँगै जोडिएको विशाल वन क्षेत्रमा वैशाख १० गते राती भएको आगलागीले खानेपानी योजनामा क्षति भएपछि कुश्मा बजारमा पानीको आपूर्ति बन्द भएको छ । कुश्मा नगरपालिका– ३ दुर्लुङ र वडा नं. ८ चुवाको सिमानामा भएको आगलागीले विशाल रूप लिँदा वन क्षेत्रबाट नै कुश्मामा भित्रिएको पानीको योजनामा क्षति पुगेको हो ।
कुश्मा बजारबाट देखिने फराकिलो वन क्षेत्र लगभग सखाप बनेको अवस्थामा पानीको लाइनमा कति क्षति भयो भन्ने यकिन नै भएको छैन । तर वनमा डढेलोले विशाल रूप लिँदासाथ कुश्मामा पानीको आपूर्ति बन्द भएको थियो ।
शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कुश्माका अध्यक्ष रविकुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका– २ खुर्कोटस्थित क्यादी खोलाबाट ल्याइएको खानेपानी योजना कुश्मामा आउने पानीको प्रमुख स्रोत हो । बर्खा याममा प्रति सेकेण्ड ३५ लिटरसम्म पानीको आपूर्ति हुने गरेको यो योजनाबाट आउने पानी पूर्णरूपमा बन्द भएको छ । वन क्षेत्रको कतिपय भागमा अझै पनि धुवाँ उडिरहेको देखिएको भए पनि धेरै ठाउँमा भने वन सखाप भएसँगै आगो पनि निभेको छ । आगो नियन्त्रणमा आएसँगै सोमबार साँझदेखि नै पाइपलाइन विस्तार गरिएका ठाउँमा पुगेर क्षतिको खोजी गरेर मर्मत कार्य थालिएपनि पाँच दिन सम्म मर्मत कार्य सकिएको छैन ।
जिल्लाको मोदी गाउँपालिकामा रहेको पाती खोलाको मुहानबाट ल्याइएको पाइपलाइन कुश्मामा पानी आपूर्ति गर्ने अर्को योजना हो । प्रतिसेकेण्ड १८ लिटरसम्म पानी आउने गरेकोमा आगलागीका कारण परिमाण घटेर प्रतिसेकेण्ड ७÷८ लिटरमा झरेको छ । यो योजना विस्तार भएको कुन ठाउँमा क्षति भएको छ भन्ने यकिन नै भएको छैन ।
सहज रुपमा खानेपानी आपुर्ति नहुँदा कक्षा १२ को परीक्षाका लागि सदरमुकाम आएका विद्यार्थीहरुलाई समस्या भएको छ । लामो समय सम्म खानेपानी आपुर्ती बन्द हुँदा ट्याङ्करबाट खोलाको पानी ल्याएर होटल सञ्चालन गर्नुपर्ने अवस्था आएको होटल फ्रेण्डली कुश्माका सञ्चालक राजु आचार्यले बताउनुभयो ।
