INSEC Online

📅 २०८३ जेष्ठ २१

इलाम उपनिर्वाचन ०८१- मिति तोकिएदेखि मौन अवधिसम्मको चुनावी शृङ्खला

इलाम निर्वाचन क्षेत्र न.२ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

१ लाख १८ हजार भन्दा बढी मतदाताले वैशाख १५ गते मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेपश्चात जिल्लामा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र तिनका प्रतिनिधिसाथै उम्मेदवारको सारा ध्यान उपनिर्वाचनमा केन्द्रीत भएको छ ।

निर्वाचन मिति घोषणा भएपश्चात वैशाख १२ गते मध्यरातिदेखि लागू भएको मौन अवधिसम्म इन्सेकले सुक्ष्म ढङ्गले निर्वाचन गतिविधि अनुगमन र अवलोकन गरिरहेको छ ।

निर्वाचन मिति घोषणा

राष्ट्रिय निर्वाचन आयोगले ०८० फागुन १३ गते इलाम निर्वाचन क्षेत्र न.२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन घोषणा गरेको थियो । ०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र-२ बाट निर्वाचित सांसद संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको ०८० भदौ २६ गते निधन भएपछि रिक्त रहेको पदपूर्ति गर्न राष्ट्रिय निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपनिर्वाचनको मिति घोषणा गरेको गरेको थियो । उपनिर्वाचनमा उम्मेदवार बन्न सबै राजनीतिक दलहरूमा आन्तरिक प्रतिस्पर्धा सुरू भयो । एक दर्जन भन्दा बढीले स्वतन्त्र उम्मेदवारको घोषणा गरे । नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका ठूला राजनीतिक दलहरूभित्र उम्मेदवारका आकांक्षी धेरै देखिए । दलहरूलाई उपयुक्र्त उम्मेदवार छनोट गर्न सकस देखिन्थ्यो । अन्ततः लामो छलफल, सहमति र आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट उम्मेदवारको नाम टुङ्गो लाग्यो ।

निर्वाचन कार्यक्रमको सुरूआत

जिल्ला निर्वाचन कार्यालयले ०८१ फागुन २१ गतेदेखि उपचुनावको तयारी तीव्र बनायो । मतदाता नामावली रूजु गर्ने, निर्वाचनमा चाहिने सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू सोही दिनबाट सुरू गरेको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयलले बताउनु भयो । ०८० फागुन १४ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेअनुसार फागुन १६ गतेदेखि सुरू भएको मतदाता नामावली अद्यावधिक कार्यक्रमको अन्तिम नामावली ०८० चैत २२ गते प्रकाशन गरिएको थियो  । उपनिर्वाचनका लागि ५ सय ४७ जना मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ०८१ वैशाख १४ गतेसम्ममा १८ वर्ष उमेर पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि इलाम निर्वाचन क्षेत्र न.२ मा मतदाताको सङ्ख्या १ लाख १८ हजार ८ सय ८९ हुने भएको छ । ५९ हजार १८ जना पुरूष, ५६ हजार ८ सय ६९ जना महिला र लैङ्गिक यौनिक तथा अल्पसङ्ख्य दुई गरी कूल मतदाताको सङ्ख्या १ लाख १८ हजार ८ सय ८९ जना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि २० ओटा राजनीतिक दल दर्ता

उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि ०८० फागुन २४ गतेदेखि ३० गतेसम्मको म्याद दिइ सूचना प्रकाशन गरिएको थियो । सो बमोजिम २० ओटा राजनीतिक दल दर्ता भए । फागुन २२ गते मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला अदालत इलामका न्यायाधीश केशवप्रसाद घिमिरेलाई नियुक्ति गरियो र सोही दिन इलाम नगरपालिका- ७ स्थित नेपाल बार एशोसिएसनको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भयो । चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिएको थियो । निर्वाचन कार्यक्रमअनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरियो । चैत २४ गते १२ ओटा राजनीतिक दलका १२ जना र आठ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराए ।  चैत २८ गतेदेखि ०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि तोकियो ।

उम्मेदवार चुनावी मैदानमा

इलाम निर्वाचन क्षेत्र न.२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ जना उम्मेदवार भएपनि नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमको चर्चा चुलिएको छ । यी बाहेक सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली समेत चुनावी मैदानमा छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले भोट मागेका छन् ।

महिला उम्मेदवार शून्य

निर्वाचन आयोगले ०८० चैत २६ गते प्रकाशन गरेको उम्मेदवारहरूको सूचीमा महिला उम्मेदवारको सङ्ख्या शून्य देखियो । संविधानको धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।’ भनि उल्लेख गरिएको भएपनि इलाम निर्वाचन क्षेत्र न.२ का लागि हुने निर्वाचनमा कुनै पनि राजनीतिक दलद्वारा सो व्यवस्था कार्यान्वयन भएको पाइएन । ठूला राजनीतिक दलहरूको उम्मेदवार छनोटमा महिला प्राथमिकतामा नपर्ने गरेकोप्रति महिला अधिकारकर्मीहरूले गुनासो छ । ‘महिलालाई सँधैपछि पार्ने चलन छ ।’ इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भन्नुभयो, ‘इलामको उपनिर्वाचनमा महिलाको उम्मेदवार शून्य हुनुले नेतृत्व तहमा महिला सहभागिता ओझेलमा रहेको प्रष्ट पारेको छ ।’ अधिकारकर्मी भीमा शिवाकोटीले पुस्तकमा महिलालाई समेटिएपनि व्यवहारमा अगाडि बढ्ने अवसर नदिने प्रचलन खराब भएको बताउनु भयो । ‘इलाममा एउटा पदका लागि २० जनाले नेतृत्व तहमा आउन चाहँदा महिलाले नचाहेको होइन, महिलाहरूलाई कसैले अवसर नदिएको समस्या उजागर भएको छ ।’ शिवाकोटीले भन्नुभयो ।

मनोनयन दर्ताका दिन आचारसंहिता उल्लङ्घन

उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन ०८० चैत २४ गते पुगेका राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो । उम्मेदवारी दर्ता गराउन जाने क्रममा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता ०७९ विपरितका गतिविधि गरेका थिए ।

निर्वाचन प्रचारप्रसारमा विद्यालय, शिक्षक, कर्मचारी, विद्यालयको सवारी साधन, भवन प्रयोग गर्न नहुने, प्रचारप्रसार सामाग्री टाँस्न वा राख्न नहुने ९निर्वाचन आचारसंहिता दफा ४ को बुँदा ग, दफा १० को बुँदा ग र छ मा निर्वाचन प्रचारप्रसार, आमसभा, तथा जुलुसमा १८ वर्ष पुरा नभएका बालबालिका प्रयोग गर्न नहुने निर्वाचन आचारसंहिता दफा ४ को बुँदा छ र दफा १३ को उपदफा १९ निर्वाचन प्रचारप्रसारमा गैरसरकारी तथा निजी संस्था, पदाधिकारी, कर्मचारी, संस्थाका सवारीसाधन, भवन प्रयोग गर्न नहुने, प्रचारप्रसार सामग्री टाँस्न वा राख्न नहुने निर्वाचन आचारसंहिता दफा १२०, सरकारी, अर्ध सरकारी तथा सार्वजनिक संस्था, सुरक्षा निकाय, विद्यालय, गैरसरकारी तथा निजी संस्थाका शिक्षक, कर्मचारी, पदाधिकारीले सामाजिक सञ्जाल प्रयोग गरेर राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार गर्न, मत माग्न नपाइने निर्वाचन आचारसंहिता दफा ७ बुँदा झ, दफा ८ को ज, दफा १० को ज र दफा १२ को झ आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी जो कसैले मौखिक, लिखित, सामाजिक सञ्जाल,विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले निर्वाचन आयोग तथा कार्यालयमा दिन सक्ने निर्वाचन आचारसंहिता दफा ४५ मा उल्लेख छ ।

निर्वाचन आचारसंहिता-०७९ परिच्छेद ३ को दफा ५० ले नेपाल सरकारले गठन गरेको कुनै पनि आयोगका पदाधिकारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्ने नहुने’ व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता परिच्छेद २ को दफा ४ को ‘क’ र ‘न’ ले नेपाल सरकारको सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ र ‘सरकारी स्रोत र साधन कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन  आचारसंहिता ०७९ को दफा १३ को घ मा जुलुस वा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित झण्डा, लोगो, स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गाम्छा, ब्याज, माक्स वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ । तर, चैत २४ गते मनोनयन दर्ता गराएका सबै उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरे  ।

Photo 20240425 Ilam

 

६ ओटा स्थानीय तहका ४२ ओटा वडामा निर्वाचन

जिल्लाका ६ ओटा स्थानीय तहका ४२ ओटा वडामा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाइ नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० ओटा वडाबाहेक) र माइ नगरपालिकाका–६, ७ र ८ वडा पर्दछन् । चुलाचुली गाउँपालिकामा १८ हजार ५ सय ४५ जना, माङसेबुङ गाउँपालिकामा १२ हजार ५ सय ३६ जना, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३ सय दुई, देउमाई नगरपालिकामा २६ हजार ३ सय ६५, इलाममा (१० वडा बाहेक) ३४ हजार ४५ र माईका- ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता रहेको आयोगले जनाएको छ । ७९ ओटा मतदानस्थल र १ सय ४९ ओटा मतदान केन्द्र तोकिएको छ । ०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

सुरक्षा व्यवस्था मजबुत

उपनिर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासनले ०८१ वैशाख २ बाट नै जिल्लामा मदिरा बिक्रीमा रोक लगाएको छ । वैशाख २ गतेदेखि वैशाख १५ गते निर्वाचन सम्पन्न भएर मत गणना नसकिएसम्मका लागि मदिरा बिक्रीमा प्रतिबन्ध छ । निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पछिको समयमा शान्ति-सुरक्षामा असर पर्ने भएपछि यो गरिएको हो । इलाम निर्वाचन क्षेत्र न.२ मा उपनिर्वाचनका लागि निर्धारण गरिएका सबै मतदानस्थल ‘अति सम्वेदनशील’ मानिएका छन् । इलाममा उपनिर्वाचन हुँदा देशभरको ध्यान एकैठाउँमा केन्द्रीत भएको र बाहिरबाटसमेत आऊ-जाऊ बढी हुनसक्ने भएकाले सबै मतदानस्थल सुरक्षाका दृष्टिले अति सम्वेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । मतदान अधिकृतसहित निर्वाचनमा खटाइने ७ सय ४९ जना कर्मचारीको सूची तयार भएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएर आवश्यक सामग्रीसहित मतदान स्थलमा खटाइएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला सुरक्षा समितिले इलामका सबै मतदान स्थललाई अति सम्वेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाएको छ । निर्वाचनको सुरक्षाका लागि ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने छ । जिल्ला निर्वाचन कार्यालयले वैशाख ११ गतेसम्मका लागि ८४ जना मतदाता शिक्षा स्वयंसेवक खटाएको थियो । योसँगै मतदानस्थलमा आवश्यक पर्ने सबै खालका सामग्री व्यवस्थापन भइसकेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ विपरितका गतिविधि धेरै

निर्वाचन आचारसंहिता, २०७९ लागू भएको ०८० चैत २८ गतेयता मौन अवधि सुरू हुँदासम्म निर्वाचन आचारसंहिता विपरितका गतिविधि धेरै भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

फुटबल क्लबलाई आर्थिक सहयोग

नेकपा एमाले चुलाचुली गाउँ कमिटिले वैशाख १ गते निर्वाचन आचारसंहिता, २०७९ विपरित चुलाचुली गाउँपालिका-३ को पेल्टीमारी फुटबल क्लबलाई आर्थिक सहयोग प्रदान गर्यो । उपनिर्वाचनमा मतदान गर्न आह्वान गर्दै ०८१ वैशाख १ गते २५ हजार रुपियाँको चेक फुटवल क्लवलाई प्रदान गरियो । पेल्टीमारी फुटबल क्लबले ०८० चैत २४ गतेबाट ०८१ वैशाख १ गतेसम्म सञ्चालन गरेको पेल्टीमारी कप ०८० को फाइनल खेलको अवसरमा नेकपा एमाले चुलाचुली गाउँ कमिटिले आयोजक संस्थालाई २५ हजार रुपियाँ आर्थिक सहयोग गरेपछि आचारसंहिता उल्लङ्घन भएको पाइएको हो ।नेकपा एमाले चुलाचुलीका सचिव ऋतुप्रसाद अधिकारी र सह सचिव होमनाथ दहालले संयुक्त रूपमा पेल्टिमारी फुटबल क्लब अध्यक्ष मिलन तामाङ र सचिव कृष्ण गिरीलाई चेक हस्तान्तरण गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइयो । निर्वाचन आचारसंहिता ०७९ को परिच्छेद ४ को दफा १३ ‘झ’ मा विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता गर्न, चन्दा पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने उल्लेख छ ।

Photo 20240415 Ilam

उम्मेदवारसँग स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दुई जना उम्मेदवारसँग वैशाख ५ गते स्पष्टीकरण सोधिएको छ । उपनिर्वाचन आचारसंहिता अनुगमन अधिकृत राजेन्द्र आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बू र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई उपनिर्वाचन आचारसंहिता २०७९ उल्लङघन गरेको आरोपमा स्पष्टीकरण सोध्नु भएको हो । रास्वपा उम्मेदवार मिलन लिम्बूविरूद्ध निर्वाचन प्रचारप्रसार तथा मत माग्ने क्रममा मापदण्डविपरीतका ब्यानर, फोटो, स्टेण्ड बनाइ टाँस गरेको भन्ने उजुरी परेपछि २४ घण्टाभित्र जबाफ माग गरिएको अनुगमन अधिकृतले आर्चायले बताउनु भएको थियो ‘आचारसंहिता अनुगमन अधिकृतबाट अनुगमन गर्नेक्रममा देखिएको फोटो वा प्रचार सामग्री तपाइँको होइन वा तपाइँले नै टाँस गरेको होइन भन्ने कुनै आधार र प्रमाण देखिएन,’ योङहाङलाई सोधिएको स्पष्टीकरणको पत्रमा उल्लेख छ, ‘तपाइँबाट निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचनसम्बन्धी कानुनविपरीत कार्य भएको हुँदा अविलम्ब उक्त सामग्री हटाउनु हुन, अन्यथा निर्वाचन आयोग ऐनबमोजिम किन कारबाही नगर्ने, कारबाही नगर्नुपर्ने कुनै प्रमाण र कारण भएमा स्पष्टीकरणपत्र प्राप्त भएको मितिले चौविस घण्टाभित्र चित्त बुझ्दो जबाफ पेश गर्नहुन जानकारी गराइन्छ ।’ अर्का उम्मेदवार डकेन्द्र थेगिमले निर्वाचन प्रचारप्रसार तथा मत माग्ने क्रममा मापदण्ड विपरीत नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले नयाँ वर्ष २०८१ को शुभकामना एवम् निर्वाचनमा आफूलाई मत मागेको भिडियोलाई तोडमोड गरी साउण्ड डबिङ गरी डकेन्द्रकै नाममा मत मागेको स्पष्टीकरणपत्रमा उल्लेख छ । ‘उजुरी परेको सम्बन्धमा आचारसंहिता अनुगमन अधिकृतबाट अनुगमन गर्नेक्रममा बुझ्दा उक्त कार्य तपाइँबाट भएको होइन वा तपाइँले नै गरेको होइन भन्ने कुनै आधार र प्रमाण देखिएन,’ पत्रमा उल्लेख छ, ‘तपाइँबाट निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचनसम्बन्धी कानुनविपरीत कार्य भएको देखिँदा अविलम्ब उक्त सामग्री सामाजिक सञ्जालबाट हटाउनु हुन, अन्यथा निर्वाचन आयोग ऐनबमोजिम किन कारबाही नगर्ने, कारबाही नगर्नु पर्ने कुनै प्रमाण र कारण भएमा स्पष्टीकरणपत्र प्राप्त भएको मितिले चौविस घण्टाभित्र चित्तबुझ्दो जबाफ पेश गर्नहुन जानकारी गराइन्छ ।’

Photo 20240417 Ilam (1)

शिक्षकद्वारा भोट अपिल

फाकफोकथुम गाउँपालिका-३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयका शिक्षक दीपेन्द्र पराजुलीले निर्वाचन आचारसंहिता, २०७९ विपरित ०८१ वैशाख ३ गते नेपाली कांग्रेसका उम्मेदवारलाई भोट मागे । नेपाली कांगेस उम्मेदवार डम्बरबहादुर खड्कालाई रूख चिन्हमा मतदान गरी बहुमतले जिताउन भन्दै सामाजिक सञ्जाल फेसुबुकमा भिडियो सामाग्रीमार्फत भोट मागेका हुन् । नेपाली विषय अध्यापन गराउने शिक्षक दीपेन्द्र पराजुलीले बोलेको भिडियो कांग्रेस कार्यकर्ताले सार्वजनिक गरेका छन् । भिडियोमा शिक्षक पराजुलीले ‘सुख दुःखको साथी डम्बर खड्का,सामाजिक सेवामा समर्पित डम्बर खड्का, इलामे युवा उम्मेदवार पनि हो । उसलाई यसपालि रूख चिन्हमा भोट दिएर अत्याधिक बहुमतले विजय गराएर यस क्षेत्रको मुहार फेर्ने हाम्रो धोको छ ।’ निर्वाचन आचारसंहिता,२०७९ परिच्छेद १ को दफा १० अन्तर्गत विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचारणको पहिलो बुँदा (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।

Photo 20240417 Ilam (2)

सदरमुकामको चोकबजारमा ‘नो भोट’

वैशाख ६ गते सदरमुकामको चोकबजारमा ‘नो भोट’ भन्दै सयौंको भिडमा निर्वाचन आचारसंहिता विपरितको कार्यक्रम गरियो । निर्वाचन आचारसंहिता-२०७९ को परिच्छेद २ दफा ४ (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका थिए । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन प्रयोगमा ल्याएको इन्सेक निर्वाचन आचारसंहिता अनुगमनका क्रममा पाइएको छ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’ को सभा वैशाख ६ गते आयोजना गरिएको थियो । सभामा प्रसाईं आफैं सहभागी भए भने उनको स्वागतका लागि ‘पञ्चकन्या’ का नाममा बालबालिका प्रयोग गरिएको अनुगमनका क्रममा पाइएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी वासुदेव खतिवडाले निर्वाचनविरोधी क्रियाकलापलाई कडाई गरिएको बताउनु भयो । तर, चोकबजारमा सयौँ सुरक्षाकर्मीको घेरामा चलाइएको नो भोटको कार्यक्रमको इन्सेकले अनुगमन गरेको छ ।

Photo 20240418 23 (1)

Photo 20240418 23 (1)

पानीका बोतलमा निर्वाचन प्रचार सामग्री

नो भोटको कार्यक्रममा स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीले काठमाण्डौँ महानगरपालिकाका मेयर वालेन्द्र साहको फोटो अङ्कित गरी आफ्नो निर्वाचन चिन्ह डोजरको प्रचार गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई कारबाही गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Photo 20240418 Ilam2 (1)

आचारसंहिता विपरित मोटरसाइकल र्‍याली

इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवारले मौन अवधि सुरूआत हुनु पूर्व सन्ध्यामा निर्वाचन आचारसंहिता विपरित मोटरसाइकल र्‍याली निकालेको इन्सेक अनुगमनका क्रममा पाइयो । उपनिर्वाचनका लागि पहिचान पक्षधरका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्रसारका लागि चुलाचुली गाउँपालिकामा ०८१ वैशाख ११ गते मोटरसाइकल र्‍याली निकालिएको इन्सेक अनुगमनका क्रममा पाइएको हो । निर्वाचन आचारसंहिता, २०७९ विपरित मुढा चुनाव चिन्हको प्रचारका साथै भोट माग्न र्यालीको आयोजना गरिएको थियो ।

निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत दफा १३ को १ (द) मा कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरि र्याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने उल्लेख छ । तर, सयौँको सङ्ख्यामा उपस्थित भएर गरिएको र्याली चुलाचुली गाउँपालिका-१ कमलदेखि १, २, ४, ५ हुँदै ६ नम्बर वडाको तोरीबारी (मधुमल्ला उत्तर) पुगेर कोणसभा गरिएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । तोरीबारीमा भएको कोणसभामा कार्यक्रम संयोजक विक्रम लिम्बूले सम्बोधन गर्नु भयो ।

Photo-20240423-ilam

मतदाता शिक्षा सञ्चालन

जिल्ला निर्वाचन कार्यालयल वैशाख ६ गतेदेखि वैशाख ११ गतेसम्म मतदाता शिक्षा सञ्चालन गरियो । निर्वाचन हुने ६ ओटा स्थानीय तहमा  एक-एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकी ति व्यक्तिमार्फत् ८६ जना स्वास्थ्य स्वयमसेविकालाई मतदाता शिक्षाका लागि परिचालन गरिएका थियो । प्रत्येक निर्वाचन सम्पर्क व्यक्तिले आफ्नो स्थानीय तहमा खटिने स्वयमसेविकालाई मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण गरेर मतदाता शिक्षाका लागि परिचालन गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । इलाम नगरपालिकामा २२ जना, देउमाई नगरपालिकामा १९ जना, माई नगरपालिकामा ६, फाकफोकथुम गाउँपालिकामा १४ जना, चुलाचुली गाउँपालिकामा १३ जना र माङ्सेबुङ गाउँपालिकामा १२ स्वयमसेविका मतदाता शिक्षाका परिचालन भएका थिए ।

Photo 20240418 1 Ilam

उपनिर्वाचनमा खटिने कर्मचारीलाई तालिम

उपनिर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारीलाई वैशाख १० गते तालिम दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले १ सय ४९ ओटा मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत गरी ३ सय ७ जनालाई तालिम दिइएको हो । कर्मचारीलाई मतदान केन्द्रमा पुगेपछि कसरी मतदानस्थल निर्माण गर्ने, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिको मतदान कसरी व्यवस्थापन गर्ने, मतपेटिका निर्माण, मतपेटिका देखिनेगरी कसरी राख्ने, मतदान सम्पन्न भएपछि तयार पारिने मुचुल्का, मतपेटिका बन्दलगायत विषयमा जानकारी गराइएको छ ।

मतदान केन्द्रमा सियोदेखि सुत्लीसम्मका सामग्री

वैशाख १२ गते सबै मतदान केन्द्रसम्म निर्वाचन सामग्री पठाइएको छ । सियोदेखि सुत्ली र सलाइसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा प्रयोग गरिँदैछन् ।  निर्वाचन कार्यालयका अनुसार यो उपनिर्वाचनमा गत निर्वाचनभन्दा थोरैखाले सामानमात्र मतदान केन्द्रमा प्रयोग हुनेछन् । यसअघिका निर्वाचनमध्ये कुनैमा ६४ र कुनैमा ६८ प्रकारका सामान प्रयोग भएका थिए । बर्खा र हिउँदमा भएका निर्वाचनमा पनि सामानको प्रकारका केही फरक पर्नेगरेको छ । यसपटक मतदान केन्द्रमा नउड्ने मसीको मार्कर पेन, मतपेटिका स्टिकर, स्वस्तिक छाप पित्तल–रबर, लाहा, मार्कर पेन, स्टिज मेसिन, स्टिज पिन, कैंची, ग्लुस्टिक, पञ्चिङ मेसिन, धागो, सियो, फलाटिन कपडा, सलाई, जेलपेन (कालो), जेलपेन (रातो) र मैनबत्तीसम्म प्रयोग गरिँदैछन् । यस्तै, कर्मचारी, स्वयंसेवक, निर्वाचन प्रतिनिधि परिचयपत्र, कार्ड र डोरी, कपडाको थैला, अनुसूचीको रोल, प्याकिङ टेप, भित्र र बाहिर लेखिएको महिला र पुरूषको रोल गरिएको बाँधिएको कार्ड, क्लिप पिन पनि मतदान केन्द्रमा प्रयोग गरिने छन् । मतपेटिका, छेकाबार, प्लास्टिक सुत्लीको रोल, स्टाम्प प्याड, स्टाम्प प्याडको मसी, प्लास्टिकको बोरा, प्लास्टिकको थैला, दुई मिटर कोरा कपडाको टुक्रा, सोसर, स्केल, रबर म्याट, फाइल, ठूलो खाम, सानो खाम, फाइल लेस, निविदा पत्र र सेतो कागज पनि मतदान केन्द्रमा प्रयोग हुँदैछन् । मतदाता नामावली रंगीन खामभित्र, मतदाता नामावली श्वामश्वेत र सुरक्षण सिल पनि मतदान केन्द्र पठाइएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले बताउनु भयो । ‘मतदान केन्द्रमा खटिएका कर्मचारीलाई धमाधाम सामान जिम्मा दिएर पठाएकाछौं,’ उहाँले भन्नुभयो ।, ‘१२ गते सबैतिर सामान पुग्नेगरी पठाइएको छ । टाढाका केन्द्रमा जाने कर्मचारीलाई वैशाख १२ गते नै सामान पठाइएको थियो । नजिककालाई वैशाख १३ गते सामान जिम्मा लगाइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित अन्य कर्मचारीलाई निर्वाचन सामग्री दिएर पठाइएको हो ।

dkfdkfk

karmacharilai talim

७९ ओटा मतदानस्थल, १४९ ओटा केन्द्र, ३ हजार बढी सुरक्षाकर्मी

इलाम निर्वाचन क्षेत्र न.२ मा ७९ ओटा मतदानस्थल र १ सय ४९ ओटा मतदान केन्द्र तोकिएको छ । कर्मचारी र सामग्रीसँगै सुरक्षाकर्मी मतदानस्थलमा पुगेका छन् । सबै मतदान केन्द्रलाई अति सम्वेदनशीलमा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनमा ७ सय ४५ जना कर्मचारी, १ हजार ५ सय २३ जना नेपाल प्रहरी, ७ सय १० जना सशस्त्र प्रहरी र ७ सय नेपाली सेना र अनुसन्धानका १५ जना शक्ति परिचालन गरिएको छ ।

कुन मतदान केन्द्रमा कति मतदाता

उपनिर्वाचनका लागि ५ सय ४७ जना मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ०८१ वैशाख १४ गतेसम्ममा १८ वर्ष उमेर पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि इलाम निर्वाचन क्षेत्र न.२ मा मतदाताको सङ्ख्या १ लाख १८ हजार ८ सय ८९ हुने भएको छ । ५९ हजार १८ जना पुरूष, ५६ हजार ८ सय ६९ जना महिला र लैङ्गिक यौनिक तथा अल्पसङ्ख्य दुई गरी कूल मतदाताको सङ्ख्या १ लाख १८ हजार ८ सय ८९ जना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

437585392_823309493172153_5966469536011911325_n 435130161_1634377193980915_1787393343923690752_n 437302892_1548398715718375_3496129599767505099_n 437135708_942595774320227_5334354501397197739_n 437524231_1387309778652548_7176401198695321128_n 435025791_986196959039387_2286560679421348413_n 435125849_944219004046482_4203090969511902911_n

इलामसँग जोडिएका भारतीय सीमा ‘सिल’

वैशाख १२ गते मध्यरातिदेखि नेपाल–भारत सीमा ‘सिल’ गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयले जिल्लासँग जोडिएका भारतीय सीमा सिल गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचनका सीमा सिल गरिएको जानकारी दिनुभयो । ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र प्रभावकारी बनाउन भारतीय सीमा सिल गरिएको हो,’ उहाँले भन्नुभयो । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि वैशाख १२ गतेदेखि नै झापा र इलामका नेपाली नाका ७२ घण्टाका लागि बन्द गरिएका छन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ ।

437153324_1022085249488770_6368110622859401545_n

nirbachan samagri

मौन अवधि सुरू, के- के गर्न हुँदैन ?

निर्वाचन आयोगले तोकेको ०८१ वैशाख १२ गते मध्यरातिसम्मको चुनावी प्रचारप्रसारको समय सकिएपछि मौन अवधि सुरू भएको छ । मत गणनासम्पन्न नहुञ्जेलसम्म मौन अवधि रहने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता अनुसार वैशाख १२ गते मध्यराति देखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन वैशाख १५ गतेभन्दा ४८ घण्टाअघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, कार्यशाला, गोष्ठीलगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाटसमेत मत माग्न निषेध छ । निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले जानकारी गराएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न- गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताउनु भयो ।

 437182049_887587629790556_275037150077326473_n437558438_823653949577278_7637340854129463845_n

शक्ति देखाउने होड

विशेषगरी चुनावी सभाहरूमा ‘शक्ति देखाउन’ उम्मेदवारबीच अघोषित ‘होड’ चलेको इन्सेकले चुनाव प्रचारप्रसार अनुगमनका क्रममा पाएको छ । मतदाता नभएपनि अरूतिर निर्वाचन नभएर फुर्सदिला नेता–कार्यकर्ता यस्तो भीड चुनावका मुखमा इलाममा ल्याएको अनुगमनका क्रममा पाइएको छ । ‘मतदाता नै नभएपनि चुनावी सभामा संख्या ठूलो भएपछि त्यसले माहोल बनाउँछ,’ एक उम्मेदवारले भन्नुभयो । वैशाख ४ मा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले इलाम बजारमा चुनावी सभा आयोजना गरे । उनको चुनावी सभामा सहभागी हुन सुनसरी, मोरङ, झापासहितमा मान्छे इलाम ल्याइए । इलाममा थेमिगका मतदाता नभएका होइनन् तर धरानका मेयर हर्क साम्पाङ नेतृत्वमा केही बस खचाखच बनाएर मानिस आएका थिए । उनीहरू चुनावी सभामा सहभागी भएर उतै फर्किए ।  वैशाख ६ मा झापाका मेडिकल व्यवसायी दुुर्गा प्रसाईंले चाहिँ निर्वाचन आचारसंहिताविपरीत ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान’को सभा नै आयोजना गरे । प्रसाईंको उद्देश्य थियो- इलाम २ मा कुनैपनि मतदाता वैशाख १५ को निर्वाचनमा मतदान गर्न नजाऊन् । उनले मतदातालाई भोट हालन नजान पनि पटक- पटक आह्वान गरे । इलाम बजारको यो सभामा पनि इलामबाहिरका मानिसको भिड लाग्यो । उनको सभामा पाँच दर्जन हाराहारी सवारीका साधन बाहिरबाट आउँदा एकतिहाई हाराहारी चाहिँ भारतीय नम्बरप्लेटका समेत थिए । महाभियानमा सहभागी एक अगुवाले भने, ‘इलाममात्र होइन, मोरङ, सुनसरी, झापा र अन्य जिल्लाबाट पनि हाम्रो अभियानमा जोडिन पाहुना आउनुभएको छ ।’ त्यसलगत्तै नेपाल मजदुर किसान पार्टीको एउटा हुल चुनावी अभियानमा क्रियाशील देखियो । नेमकिपाको यो हुलमा इलामका केही र जिल्लाबाहिरकै मानिस (जो मतदाता छैनन्) को बाहुल्य देखियो । नेमकिपा नेता-कार्यकर्ता भक्तपुरबाट दुई बसमा चुनावी अभियानमा इलाम आएका थिए । केही दिनपछि उनीहरू फर्किएका छन् ।

अन्य

भिडियो