कपिलवस्तुमा ४३ प्रतिशत किशोरीहरूमा रक्त अल्पताको समस्या देखिएको छ । कपिलवस्तुका सामुदायिक विद्यालयमा वर्षौँदेखि निःशुल्क आइरन चक्की खुवाउँदै आए पनि ४३ प्रतिशत किशोरीहरूमा रक्त अल्पता (एनिमिया) को समस्या देखिएको हो । सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत १२ वर्ष देखि १९ वर्ष उमेर समूहका किशोरीहरूको रगत परीक्षण गर्दा यस्तो तथ्य आएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
स्वास्थ्य कार्यालयले ०८० फागुन १ देखि चैत १ गतेसम्म जिल्लाका १० स्थानीय तहका २४ ओटा विद्यालयका ४ हजार ७ सय ३४ बालिकाको परीक्षण गर्दा २ हजार ५९ बालिकामा रक्त अल्पताको समस्या देखिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन श्रीधर खनालले बताउनु भयो । २४ मध्ये १० विद्यालयका ५० प्रतिशतभन्दा बढी किशोरीहरूमा रक्त अल्पता देखिएको छ । शरीरमा ११ प्रतिशत ग्रामभन्दा कम हेमोग्लोबिनको मात्रा रहेमा त्यस्तो व्यक्ति रक्त अल्पताको समस्यामा रहने कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताउनु भयो ।
यसैगरी ७ देखि ९ प्रतिशत ग्राम भएका ३ सय ४७ जना र ९ देखि ११ प्रतिशत ग्रामका १ हजार ६ सय ६३ जना किशोरीहरूमा रक्त अल्पता भएको पाइएको छ । सबैभन्दा बढी यशोधरा गाउँपालिकाको बासुदेव जनता माविका ७९.९ प्रतिशत (१ सय ३५ जना) किशोरीमा रक्त अल्पता रहेको पाइएको छ ।
शिवराज नगरपालिकाको त्रिधुभवन आर्दश मावि, पिपरीका ७५.३ प्रतिशत, मायादेवी गाउँपालिकाको जनता मावि, बलुहवाका ७४ प्रतिशत, महराजगञ्ज नगरपालिकाको जानकी माविका ७०.६ प्रतिशत, कपिलवस्तु नगरपालिकाको तिलौराकोट माविका ६६.२ प्रतिशत, कृष्णनगर नगरपालिकाको नेत्र ज्योेति माविमा ५९.२ प्रतिशत, बुद्धभुमी नगरपालिकाको सिद्धार्थ स्मारक माविका ५६.१ प्रतिशत, बाणगङ्गा नगरपालिकाको ओदारी माविका ५३.३ प्रतिशत, बुद्धभुमी नगरपालिकाको भृकुटी माविका ५१.१ प्रतिशत र बिजयनगर गाउँपालिकाको लौटनराम द्रोपतीदेवी मावि, गणेशपुरका ५२.३ किशोरीहरूमा रक्त अल्पता देखिएको छ । सबैभन्दा कम सुद्धोधन गाउँपालिकाको राष्ट्रिय मावि, मुडफुटवाका २.६ प्रतिशत किशोरीमा मात्र रक्त अल्पता देखिएको छ ।
शरीरमा रगतको मात्रा हेमोग्लोबिनको कमी भयो भने रक्तअल्पता रोग लाग्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले बताउनु भयो । रक्त अल्पताबाट बचाउन आइरन चक्की दिने गरिएको छ । वर्षौँदेखि आइरन चक्की निःशुल्क बाँडिए पनि जिल्लामा रक्त अल्पताका रोगीको सङ्ख्या झनै बढ्दै गएको छ । सन् २०१६ को नेपालको जनसाङ्ख्यीक प्रतिवेदन अनुसार जिल्लामा ४१ प्रतिशत रक्तअल्पताका रोगी फेला परेका थिए ।
सन् २०११ मा भने ३५ प्रतिशत थियो । १५ देखि ४९ वर्षका सुत्केरी, गर्भवती महिला तथा ६ महिनादेखि ५९ महिनाको बालबालिकाहरूमा रक्त अल्पताको समस्या देखिएको छ । कुपोषण र रक्त अल्पताको अवस्थामा सुधार ल्याउन जिल्लामा १० वर्षयता एकीकृत बहुक्षेत्रीय पोषण कार्यक्रम समेत सञ्चालित छ । सरकारी कार्यालय सहित विभिन्न निकायले एकीकृत पोषणका नाममा करोडौँ रुपियाँ खर्चेका छन् ।
स्वास्थ्य कार्यालयले समेत पोषण कार्यक्रममा वर्षौँदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले जिल्लामा लगानी अनुसार प्रतिफल नआउनु दुखको कुरा भएको बताउनु भयो । पोषण र रक्त अल्पताको समस्यालाई समाधान गर्न ठूलो चुनौती आएको उहाँले भन्नुभयो । शरीरमा आवश्यक पर्ने रगतको मात्रा हेमोग्लोविन कम भएपछि रक्त अल्पताका रोगी हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाई छ ।
रक्त अल्पताको समस्यालाई हटाउन जिल्लाभरका सरकारी स्वास्थ्य संस्थाहरूबाट निःशुल्क रूपमा आइरन चक्की बाँडिने गरिएको छ । आइरन चक्की नखाएर मात्र होइन नियमित पोषिलो खानेकुरा नखाइएको कारण यस्तो समस्या देखिएको कपिलवस्तु अस्पतालका मेसु विपिन जायसवालले बताउनु भयो । चेतनाको अभाव आनीबानी र व्यवहार परिवर्तन नुहँदा यो समस्या झनै जटिल बन्दै गएको मेसु जायसवालले बताउनु भयो । यस्तै करेसाबारी नहुनु, गरिबी, चेतना र शिक्षाको अभावले समेत रक्त अल्पताको रोगीको सङ्ख्या बढ्दै गएको उहाँको भनाई छ ।
शिक्षा तथा समन्वय इकाइका प्रमुख थानेश्वर घिमिरले विद्यलायहरूमा पोषण शिक्षा सञ्चालन गरिए पनि अझै रक्त अल्पता र कुपोषणको समस्या न्यूनीकरण हुन नसकेको बताउनु भयो । विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई सचेत बनाउन नसके यो समस्याको समाधान गर्न नसकिने घिमिरेले बताउनु भयो । उहाँले रक्त अल्पता र कुपोषणको कुचक्र हटाउन विद्यलाय र समुदायमा सचेतना फैलाउनु पर्ने अत्ति आवश्यक देखिएको उल्लेख गर्नुभयो ।
यसलाई सुधार गर्न र रक्त अल्पतालाई न्यूनीकरण गर्न आयोडिनयुक्त नुन, भिटामिन ए, परजिवी सङ्क्रमणका विषयमा गाउँगाउँमा व्यापक रूपमा जानकारी गराउनु पर्ने मानव अधिकार समूहका अध्यक्ष पुस्पा रेग्मीले बताउनु भयो । रक्त अल्पता र कुपोषणको समस्या हटाउन ठूलो समस्या र चुनौती देखिएकोले पोषिलो खानेकुरा, व्यवहारमा परिवर्तन नगरी यी समस्याबाट पार लाउन जटिल रहेको रेग्मीले भन्नुभयो ।
स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स शान्ति भण्डरीले रक्त अल्पता देखिएका किशोरीहरूमा शारीरिक, मानसिक विकासमा धेरै समस्या आउने बताउनु भयो । जिल्लामा उमेर नपुगी विवाह हुनेको सङ्ख्या बढी छ । यस्तोमा रक्त अल्पता भएका किशोरीहरू आफै कमजोर हुने र उनीहरूका बच्चा समेत शारीरिक र मानसिक रूपमा कमजोर हुने उहाँले बताउनु भयो ।