राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले तयार पारेको समाजिक सचेतना तथा शिक्षामूलक चलचित्र “अग्नी दहन” वैशाख १० गते इन्सेकको प्रकाश स्मृति हलमा प्रदर्शन गरिएको छ ।
च्यारीटी चलचित्रमा नेपालमा पुस्तौँदेखि रुढीवादी परम्परा, अन्धविश्वास, कुरिति, कुप्रथा र कूसंस्कार अझै विद्यमान रहेकोले यस्ता कूप्रथा भ्रम मात्रै रहेको देखाइएको छ। नेपालका अधिकांश ग्रामीण भेगहरू तथा तराई क्षेत्रका विभिन्न ठाउँहरूमा कथित बोक्सी हुन्छन् भन्ने मान्यता रहि आएको र त्यसले पार्ने प्रभावको विषयमा केन्द्रित भएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भयो ।
समाजिक सचेतना शिक्षामूलक चलचित्र “अग्नि दहन” २०७२ सालमा हेटौँडामा घटेको एक घटनामा आधारित रहेको बताउँदै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले उक्त घटनामा इन्सेकले पनि अध्ययन गरी अभिलेखिकरण गरेको बताउनु भयो ।
इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले नेपालका विभिन्न क्षेत्रमा विशेष गरेर गरिब र पछाडि पारिएको समुदायका व्यक्तिलाई यस्तो आरोप लाग्ने गरेको बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक र इन्सेक अनलाइनका प्रधान सम्पादक मदन पौडेलले यस किसिमका घटना इन्सेकले अभिलेखिकरण गर्दै आएको र यस किसिमका घटनामा पीडितलाई न्यायाको पहुँचका लागि भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।
यस्ता घटनामा प्राय एकल, निमुखा, अशक्त तथा गरिब व्यक्तिलाई बोक्सा र बोक्सीको आरोप लगाएर शारीरिक तथा मानसिक यातनाका घटना सङ्कलन गर्दै आएको इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले बताउनु भयो ।
उहाँले नेपाल मानत्व अधिकार वर्ष पुस्तक २०२४ मा बोक्सोको आरोपको घटनामा एक जना र बोक्सीको आरोपको घटनामा २५ जना पीडित भएका घटनाको तथ्याङ्क रहेको बताउनु भयो ।
बोक्सीको आरोप लगाएर गालीगलौज, कुटपिट, अभक्ष कोच्याउने तथा मोसो दल्नेलगायतका घटना मानव अधिकारविरूद्ध र कानुन विपरित रहेको इन्सेककी एड्भोकेसी प्रमुख सम्झना श्रेष्ठ र बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनु भयो ।