INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक नहुँदा विज्ञान र गणितको पढाइ ठप्प

निर्वाचन आचारसंहिता लागेको भन्दै इलामका सात विद्यालयमा रिक्त गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ नै बन्द भएको छ ।

सन्दकपुर गाउँपालिकाको जमुनास्थित भगवती मावि, जोगमाईको ज्ञानोदय मावि, सूर्योदय नगरपालिकास्थित गोर्खे मङ्गलबारेमा रहेको सिंहदेवी मावि, लुम्दे, जस्बिरे, जितपुर, नयाँबजारका गरी सात विद्यालयमा गणित र विज्ञान दुवै विषयका शिक्षक छैनन् ।

शिक्षक नहुँदा विद्यार्थीको पढाइ नै अवरूद्ध भएको जमुनास्थित भगवति माविका प्रधानाध्यापक जनकलाल सापकोटाले जानकारी दिए ।

कक्षा ९ र १० मा विज्ञान, गणित पढाउन नपाउँदा एसईई दिने परिक्षार्थीलाई समस्या भएको विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् । शिक्षक नियुक्ति गर्न विज्ञापन खोलिएपनि निर्वाचन आचारसंहिता जारी भएपछि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि शिक्षक राख्न असम्भव रहेको गोर्खे मङ्गलबारेस्थित सिंहदेवी माविका प्रधानाध्यापक अमृतकुमार पाण्डेले बताए । शैक्षिक सत्र सुरू भएयता विद्यार्थीले शिक्षक अभावमा सो विषय पढ्न पाएका छैनन् ।

सरकारले अध्यापन अनुमति पत्रलाई अनिवार्य गराएपछि गत शैक्षिक सत्रमै विषयगत शिक्षकको अभाव झेल्दै आएका विद्यालय र विद्यार्थीले यो शैक्षिक सत्रभर नै शिक्षक नपाउने निश्चित छ । अध्यापन अनुमतिपत्र अनिवार्य गराइएपछि आइएस्सी र बिएस्सी गरेर बसेका व्यक्तिलाई त्यो अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गर्नै कठिन हुने जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतम बताउँछन् । ५० अङ्क ल्याएर उत्तीर्ण हुने यो अनुमतिपत्र नै व्यावहारिक नभएको जिशिअ गौतमको भनाई छ ।

अन्य

भिडियो