INSEC Online

📅 २०८३ जेष्ठ २१

अभिभावकसँगै कमाउन जान्छन् विद्यालय पढ्ने उमेरका बालबालिका

सुनछहरी गाउँपालिकाकाका अधिकांश दुर्गम बस्तिका विद्यालय पढ्ने उमेरका बालबालिका अभिभावकसँगै रोजगारीको निम्ति जिल्ला बाहिर कमाउन जाने गरेका छन् ।

पछिल्लो समय याहाँका स्थानीयहरूको रोजगारको निम्ति मनाङ र मुस्ताङ नजिकको प्रमुख गन्तव्य जस्तै बनेको छ । गाउँघरमा दुख गरेर लगाएका अन्न बालिले ६ महिना पनि खान नपुग्ने भएपछि रोजिरोटी कै निम्ति कमाउन जानपरेको यहाँका स्थानीय बासीको भनाई छ । घरका अभिभावक कमाउन जाँदा आफ्ना बालबालिकालाई पनि साथमा लाने गरेका छन् । यसरी अभिभावकले बालबालिकालाई साथमा रोजगारीको लागि लैजाँदा उक्त बालबालिकाहरू शिक्षाको अधिकारबाट समेत वञ्चित हुनुपरेको छ ।

गाउँघरमा रोजगारीको कुनै अवसर नहुनु र आफैले कुनै व्यवसाय खोल्न लगानी नहुनु जस्ता कारण यहाँका स्थानीयहरू गाउँनै छोडेर कमाउन जाने गरेको सुनछहरी गाउँपालिका-२ का स्थानीय रेगम घर्तीले बताउनु भयो । यहाँका स्थानीयहरूलाई रोजगारीकै निम्ति देशका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेको घर्तीले उल्लेख गर्नुभयो ।

अविभावकहरू रोजगारीको निम्ति जिल्ला बाहिर जाँदा आफ्ना बालबालिकाहरूलाई साथमा लिएर जाने गरेका छन् । जसको कारण विद्यालय छोड्ने बालबालिकाहरूको सङ्ख्या बढ्ने गरेको छ भने बालबालिकाहरू पढ्न पाउने अधिकारबाटै वञ्चित हुने गरेका छन् । वर्षभरी गरेको खेतीपातीले ६ महिनासम्म पनि खाना नपुग्ने भएकाले रोजगारीको लागि जिल्ला बाहिर अथवा विदेशतिरै जानुपर्ने यहाँका स्थानीयको बाध्यता छ । यहाँका अधिकांश स्थानीयरू हिउँदको समयमा घर आउने र चैत–वैशाखमा कमाउन इट्टाभट्टा तथा मनाङ, मुस्ताङ, भारत लगायत जिल्ला बाहिर जाने गरेका छन् ।

बुबा आमा नै कमाउन जाँदा साना बालबालिकालाई पनि साथमै लिएर जानुपर्ने अवस्थाले बालबालिकाको पढाइमा प्रभाव पारेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुनछहरी गउँपालिका-४, स्युरीका शिक्षक दल बहादुर पुन मगरले जानकारी दिनुभयो । मजदुरीको निम्ति अविभावकसँगै आफ्ना बालकालिका पनि लिएर जाँदा विद्यालय छोड्नेको सङ्ख्यामा समेत बृद्धि भएको शिक्षक दल बहादुर पुन मगरले बताउनु भयो ।

यसरी बालबालिकाहरू अभिभावकसँग रोजगारीको लागि सँगै जाँदा नियमित खोप तथा स्वास्थ्य चेक जाँचमा समेत प्रभाव पर्ने गरेको स्वास्थ्य चौकी, स्युरीका इन्चार्ज खड्क बहादुर घाहाले बताउनु भयो ।

सुनछहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख रेग बहादुर पुन मगरले गाउँबस्तीका अविभावकहरूले बालबालिकालाई साथमा लिएर कमाउन जानुर्ने बाध्यताले बालबालिकाको पढाईमा प्रभावसँगै विद्यालय छोड्नेको सङ्ख्या समेत बढिरहनु चुनैतीको विषय भएको बताउनु भयो । गत वर्षमा सुनछहरी गाउँपालिकामा कुल ४६ जना विद्यार्थीले विद्यालय छाडेका थिए भने यस वर्ष अनुमानित २४ जनाले विद्यालय छोडेका उहाँको भनाई रहेको छ । गाउँपालिकामा विद्यालय छाडेर जिल्ला बाहिर काम गर्न जाने र परीक्षामा सहभागी हुन आउने समस्या समेत विद्यालयहरूमा देखिने गरेको शिक्षा शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।

अन्य

भिडियो