गौशाला नगरपालिका-८ स्थित उखुबारीमा अज्ञात समूहले भदौ २६ गते राति ग्याँस सिलिण्डर विष्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीय उमेश महतोको उखुबारीमा सो सिलिण्डर विष्फोट गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले घटनास्थलमा ग्याँस सिलिण्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको बताए । उनले सर्च अपरेशन जारी रहेकोले थप तथ्य खुल्ने बताए ।
यसअघि भदौ २० गते राति बर्दिवास नगरपालिका परिसर बाहिर टिफिनमा राखिएको विष्फोटक पदार्थ विष्फोट गरिएको थियो । हालसम्म कुनै समूह वा व्यक्तिले यि दुवै घटनाको जिम्मा लिएको छैन ।
एसपी कडायतले घटनास्थलमा व्यापक मात्रामा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएकोले अपराधी चाँडै पत्ता लाग्ने बताए । उनले निर्वाचनलाई भाँड्न केही समूह वा व्यक्तिहरूले प्रयास गरिरहेपनि आफूहरूले त्यस्तो मिसन सफल हुन नदिने बताए ।
उनले आपराधिक क्रियाकलाप गरेर वा जनतालाई बम विष्फोट वा सिलिण्डर बम विष्फोट गराएर तर्साउन प्रयास गरिएपनि उनीहरू आफ्नो उद्धेश्यमा सफल नहुने बताए ।