कपिलवस्तुबाट विवाह भएर हेटौँडा पुग्नुभएकी बाणगङ्गा नगरपालिका-८, बोडगाउँकी २६ वर्षीया सुस्मिता केसीको हेटौँडामा भएको हत्याकाण्डको न्यायको माग गर्दै कपिलवस्तुमा इन्सेक लगाएत विभिन्न सङ्घसंस्थाहरूले ०८१ वैशाख ८ गते र्याली प्रदर्शन गरेको छ ।
केसीको घर परिवारको मिलीमतोमा ०७७ असार २ गते योजनाबद्ध रूपमा विभत्स हत्या भएको थियो । अहिले उक्त घटनाको मुख्य योजनाकारलाई नै अदालतले सफाइ दिएको भन्दै त्यसैको विरोधमा कपिलवस्तुवासी माइती पक्षले योजनाकारलाई जिल्ला अदालतले ०७९ पुस २२ गते गरेको फैसलालाई २५ वर्षको फैसला सदरको माग गर्दै धर्ना सहितको र्याली प्रदर्शन गरेका हुन् ।
सुस्मिताको न्यायका लागि सङ्घर्ष समितिले घटनाका योजनाकारलाई कुनै हालतमा उन्मुक्ति नदिइयोस् भन्ने दबाब सिर्जना गर्न वृहत् प्रदर्शन कार्यक्रम राखिएको र सुस्मिताको न्यायको लागि गठन भएको सङ्घर्ष समितिका अध्यक्ष अम्बिका पौडेलले जानकारी दिनुभयो । विहान ८ बजे बाणगङ्गा नगरपालिका-२ स्थित इलाका प्रहरी कार्यालय, पिपरा अगाडि जम्मा भएर धर्ना दिई प्लेकार्ड र नारासहित ४ नम्बर चोकमा र्याली सहित कोणसभा गरिएको पौडेलले बताउनु भयो । पीडितका ठूला बुबा हेम खड्काले सुस्मिताको न्यायको लागि अब ज्यानको बाजी लगाउन समेत तयार रहेको बताउनु भयो ।
हेटौँडा उपमहानगरपालिका-४ की २६ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि हत्यामा संलग्न चार जनालाई जिल्ला अदालत मकवानपुरले जन्म कैदको फैसला गरेको थियो । सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई हत्याको कसुरदार ठहर गरी जन्मकैद अर्थात जनही २५ वर्षको कैद सजाएको फैसला गरेको थियो । तर ज्वाई अरुण कार्की र उहाँकी पत्नी दुर्गा कार्कीलाई उच्च अदालत हेटौँडाले सफाई दिएको छ ।
पीडित परिवारले घटनाका मुख्य योजनाकार नै तिनै दुर्गा र अरुण नै रहेको भन्दै तिनलाई सफाई दिन नहुने बताउँदै आएका छन् । जिल्ला अदालतले जन्म कैदको फैसला गरे पनि उच्च अदालतले मुख्य योजनाकारलाई सफाई दिएर आफूहरूमाथि ठूलो अन्याय गरेको हुनाले अन्तिम लडाइ स्वरुप दबाब दिई योजनाकार दोषीलाई जिल्ला अदालतको सदरको मागका लागि बृहत र्याली गरिएको खड्काले बताउनु भयो ।
कपिलवस्तुको प्रदर्शनपछि अब आफू काठमाडौँमा धर्ना बस्ने पीडित पक्षले बताएका छन् । अदालतको मानहानी गर्न नभई मृतक सुस्मिताको न्यायको लागि यो दबाब कार्यक्रम गरिएको विभिन्न सामाजिक सञ्जालले गठन गरेको सङ्घर्ष समिलेले जनाएको छ ।
मृतक सुस्मिताकी आमा गङ्गा केसीले विगत चार वर्षदेखि लड्दालड्दै आफूहरू पनि सिद्धिन लागेको अवस्थामा अदालतको फैसलाले झन् दुखि बनाएको भन्दै न्यायको लागि सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । विभिन्न दबाब र प्रभावले घटनाको मुख्य योजनाकारलाई उन्मुक्ति दिने गरी उच्च अदालतले पूर्णपाठ देला भनेर आफूहरूले कल्पनासम्म नगरेको केसीले बताउनु भयो । छोरीको क्रुर हत्या हुँदा पनि न्यायको भिख माग्न सडकमा उत्रिनु पर्ने भन्दै दुख व्यक्त गर्नुभयो । आफ्नी छोरी अब आफूले नपाए पनि मुलुकभरका सुस्मिता जस्ता हजारौँ छोरीहरूको न्यायको लागि यो अभियान गरिएको गङ्गा केसीले बताउनु भयो ।
ससुरालीबाट ०७६ असोज २३ गते फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा रुपेन्द्र थापाको निधन भएको थियो । त्यसपछि ०७७ असार २ गते परिवारको योजनाबद्ध रूपमा विभत्स हत्या भएको थियो । अभियानमा सुरुदेखि लागेका राष्ट्रिय स्वयम् सेवक सङ्घका अध्यक्ष खेमराज पौडेलले सबै जुटेर दबाब सिर्जना गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले काठमाडौँ पनि सङ्घर्ष समिति बनिसकेको बताउँदै अब आन्दोलनले झन् चर्को रुप दिने उल्लेख गर्नुभयो ।
प्रदर्शनमा सुस्मिताले न्याय पाउनै पर्छ, हत्याका योजनाकारलाई जिल्ला अदालतको २५ वर्ष सजायलाई सदर गर, हत्याकाण्डका पाँचै जनालाई आजिवन कारावास हुनै पर्छ, हत्या, बलात्कारबाट मरिएका छोरीहरूलाई न्याय दे, दोषीलाई प्रमाणका आधारमा कानुनी सजाय हुनुपर्छ, हत्याका योजनाकारलाई तुरुन्त कारवाही गर, नारीको सम्मान गर, हत्या हिंसा अन्त्य गर, न्याय हाम्रो माग हो लगाएतका प्लेकार्ड सहित न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा बाणगङ्गा नगरपालिकाका विभिन्न सरोकारवाला, महिला समूहहरू, सुरक्षाकर्मी, इन्सेक, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।









