इलाम निर्वाचन क्षेत्र न.२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको तयारीलगायतका विषयमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतको टोलीले वैशाख ६ गते अनुगमन गरेको छ ।
उप-निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव एकनारायण अर्याल, रक्षा सचिव किरणराज शर्मा, आइजिपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, नेपाली सेना युद्ध कार्य महानिर्देशनालय उपरथी प्रेमध्वज अधिकारी र प्रमुख सेनानी मणिराम थापालगायतको टोलीले निर्वाचन तयारीका विषयमा अनुगमन गरेको हो ।
अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालयमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, निर्वाचन व्यवस्थापनको तयारी, दल तथा उम्मेदवारहरूको चुनावी कार्यक्रम र जिल्लाको वस्तुस्थिति बारेमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृह सचिव एकनारायण अर्यालले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न गराउन, सम्पूर्ण दलहरूको इलाम केन्द्रीत गतिविधिका कारण उत्पन्न हुने सम्भावित सुरक्षा चुनौतीलाई रोक्न निरन्तर समन्वय, सहकार्य गरी उपनिर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनु भएको छ ।
चुनावको मिति नजिकिएसँगै जिल्लामा प्रमुख दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेको विषयमा अनुगमन टोलीले चासो दिएको छ ।

फोटो- नेपाल प्रहरी